२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अमेरिकी चर्चमा सामूहिक हत्याको योजना बनाउने व्यक्ति पक्राउ



एजेन्सी ।
अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर चर्च मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक व्यक्तिलाई अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबिआईले पक्राउ गरेको छ।
स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो।
मेम्फिसको चर्चमा भेला हुने व्यक्तिहरुको गोली हानी सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीहरुलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी संचारमाध्यमलाई उदृतगर्दै सिन्ह्वाले उल्लेख गरेको छ। एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेका र उनको साथमा रुगर पी ९० ह्यान्डगन रहेको फेला परेको थियो।
म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया मनोरोगबाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थ समेत सेवन गर्ने गरेको बताइन्।
अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन्।

प्रकाशित मिति : ४ भदौ २०७६ बुधबार ००:००  २ : ५४ बजे