७ असार २०८३, आइतबार | Sun Jun 21 2026

‘बिरामी हुन पाइन्छ तर बिरामी हुँदा पनि देश चलाउने हठ गर्न पाइँदैन’



काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बिरामी हुँदा पनि देश चलाउने हठ गर्न नपाइने टिप्पणी गरेका छन् । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भिडियो कन्फरेन्स’का माध्यमबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले बुधबार ट्विटरमा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उच्चतम प्रविधिको प्रयोग सकारात्मक भए पनि प्रविधिको गलत प्रयोग प्रत्युत्पादक हुने प्रष्ट्याएका छन् ।
“सम्माननीय @pm_nepal शीघ्र स्वास्थ्यलाभको कामना । उच्चतम प्रविधिको प्रयोग सकारात्मक हो तर प्रविधिको गलत प्रयोग प्रत्युत्पादक हुन्छ,” नेता पौडेलले लेखेका छन्, “लामो समय देशलाई नै विदेशमा बसेर चलाउन खोज्नु कदापि उचित मान्न सकिँदैन । बिरामी हुन पाइन्छ तर बिरामी हुँदा पनि देश चलाउने हठ गर्न पाइँदैन ।”
उनले ‘भिडियो कन्फरेन्स’ गरेर बसेको मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेकका व्यक्तिहरु पनि उपस्थित हुनु उचित नभएको संकेत गरेका छन् । “मन्त्रिपरिषद् बैठकमा परिषद्का सदस्यबाहेक अरूको समेत उपस्थिति नयाँ अध्यायको सुरूवात हो कि ?,” पौडेलले प्रश्न गरेका छन् ।
सरकारले केही दिनअघि आफ्नो कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला ‘भिडियो कन्फरेन्स’लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । सोही संशोधित व्यवस्थाअनुसार सोमबार ‘भिडियो कन्फरेन्स’ गरेर मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७६ बुधबार ००:००  ५ : ५४ बजे