३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

सुर्खेतको जंगलमा मरेका गाईगोरुको संख्या ३४ पुग्यो



सुर्खेत ।
सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको छ । नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु चौपाया दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए । यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् ।
शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जंगलमा मरेका भेटिएका छन् । केहीलाई नेपालगञ्ज पठाइसकिएको छ । मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो । हामीले चालकसहित ट्रकहरुलाई नियन्त्रणमा लिएर कसरी गाईगोरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।’
नेपालगञ्जबाट दैलेखको श्रीस्थानमा पाल्नको लागि भन्दै २ सय ९१ वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो । तर बीच बाटोमै गाई अलपत्र छोडेर हत्या गरेको भन्दै चौतर्फी आलोजना भइरहेको छ । जंगलमा ल्याएर गौ हत्या गरेको भन्दै शनिबार वीरेन्द्रनगरमा दोषीलाई कार्वाहीको माग गर्दै विरोध कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  २ : २६ बजे