२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

‘देशमा राजा आउ देश बचाउको नारा लाग्न थाल्यो’



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । काठमाडौंमा भएको कार्यक्रममा उनले शनिबार भने, “मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो । यसलाई अन्यथा लिनुहुँदैन ।”

मुलुकमा संघीयता आएको भए पनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आज पनि सक्रिय रहेको बताए । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्यपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए । तर, संघीयतालाई सुरुवातमै कमजोर बनाइएको उनको गुनासो छ । उनले भने, “सिद्धान्ततः संघीयता धेरै राम्रो छ । तर, हामीले संविधानमा लेखेका कुरा पनि पालना गरेनौं । अहिले प्रहरी पोशाक पनि केन्द्रबाट नै बनाउने भनिएको छ । यो भनेको ठूलो कमिशनको खेल हो । अहिले पनि जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो छ ।”

मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने, “अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।” उनले आफ्नो पार्टीले यो वर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने जानकारी दिए ।

कर्णले गौहत्या भएको विषयमा सरकारको ध्यानाकार्षण गराए । उनले भने, “यो विषयमा सरकारले जिम्मा लिनुपर्छ । घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्नुपर्छ ।”

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ६ : ४९ बजे