५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बहुविवाहको मुद्दामा प्युठानका गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा



केशर रोका, प्यूठान ।
गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मुद्दाले प्रहरी हिरासत पुर्याएको छ । पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन्। भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ । ‘आइतबार साँझ हाम्रो सम्पर्कमा आउनुभयो’, कार्कीले भने, ‘अनुसन्धान सुरु भएको छ । निष्कर्षमा नपुग्दासम्म हिरासतमा राख्छौँ ।’
अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन् । ‘विवाह लुकेर गर्ने कुरा होइन’, उनले भने, ‘विवाह गर्नैपरे सबैलाई खवर गर्छु ।’ गिरीले यसअघि सम्बन्ध विच्छेदको मुद्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन् ।
यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको बताएका छन् । पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन् । उनले दोस्रो विवाह गरेको प्रमाणको आधारम मुद्दा दायर गरेको दाबी गरेकी छन् ।
गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ४ बमोजिम सजाय भोग्नुपर्ने अधिवक्ता डा. शिवराज पण्डितले बताए । दफा १७५ को उपदफा ४ मा बहुविवाह प्रमाणित १ वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ६ : १० बजे