८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

असोज १३ देखि नेपाल खुला दिसामुक्त हुँदै



काठमाडौं ।
सरकारले नेपाललाई खुला दिसामुक्त देशका रुपमा घोषणा गर्ने भएको छ। खानेपानी मन्त्रालयले नेपाललाई खुला दिसामुक्त बनाउने तयारी थालेको हो । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गरिने जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा ७७ वटै जिल्ला खुला दिसामुक्त भइसकेको सन्दर्भमा देशलाई नै खुला दिसामुक्त घोषणाका लागि विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए। ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिवद्धता जाहेर गर्ने’ कार्यक्रम प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौंमा हुने जानकारी दिए। सन् २०११ मा थालिएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त अभियान थालिएको थियो। २०६८ असार १० गते कास्की जिल्ला पहिलो खुला दिसामुक्त जिल्ला घोषित भएको थियो। मन्त्रालयका अनुसार हाल देशभरका ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेका छन्। यही अवसरमा सरकारले राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  २ : ३२ बजे