४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सयौं वर्ष पछि बत्ति बलेपछि सिद्धाराबासीमा छायो खुसीयाली



गणेश बेल्वासे अर्घाखाँची ।
शितगंगा नगरपालिकाको वडा नम्बर ९ र १० अन्तर्गतका बाघखोर, उपल्लो सिद्धारा र तल्लो सिद्धारामा औपचारीक रुपमा बिजुली बत्तिको उद्‌घाटन पछि त्यस क्षेत्रका स्थानिय बासीमा खुसीयालीको लहर छाएको छ ।

सिद्धारा विद्युत विस्तार उपभोक्ता समिति शितगंगा ९ र १० को आयोजनामा बिजुली बत्तिको उद्‌घाटन गरिएको छ ।

विजुली बत्ति उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद रामजी प्रसाद घिमिरेले सिद्धाराको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । अब तिन वर्ष भित्रमा सबैलाई खानेपानी र विद्युतको पहुँचमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस आर्थिक विकासमा पनी विद्युतीकरणको लागि ४३ लाख ५० हजार छुट्याईको र त्यसको प्रकृया अगाडी बढाईएको उहाँले बताउनु भयो । त्यस्तै मोटरबाटोको स्तर वृद्धि पनि गरिदै जाने बताउनु भएको छ । थप कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ”यस उर्वरभूमि सिद्धारामा व्यवसायीक खेती प्रणाली अपनाउन जरुरी रहेको बताउनु भएको छ । बसाईसरी तराई तिर झर्नु भन्दा यही केही गरेर देखाउनु आवश्यक रहेको बताउनु भयो ।”

त्यस्तै शितगंगा नगरप्रमुख सूर्यप्रसाद अधिकारीले शितगंगालाई विशेष क्षेत्र घोषणा गरी विकास योजना छुट्याउनको लागि प्रदेश र केन्द्रिय सरकारलाई आग्रह गर्नु भएको छ । अरु पालिकालाई जस्तो व्यवहार गरेर विकास योजनामा छुट्टाईएको बजेटले शितगंगाको समृद्ध हुन नसक्ने बताऊनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख टिका रेश्मीले बसाईसराई नगर्न सिद्धाराबासीलाई अनुरोध गर्नु भएको छ । विकास अब विस्तारै सिद्धारा तिर लम्किरहेकोले आफ्नो खेतीबारीमा उत्पादनमूलक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै सहायक जिल्ला अधिकारीले सिद्धाराको विकासका पूर्वाधार विकासमा ध्यान दिन जनप्रतिनिधीलाई आग्रह गर्नु भएको छ । सिद्धाराबासीको तर्फबाट बोल्दै उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता पूर्वाधारको सेवा विस्तार तथा जंगली जनावरको आतंक रोक्न स्थानिय, प्रदेश र केन्द्र सरकारको ध्यान जान जरूरी रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा विद्युत प्राधिकरण जिल्ला शाखा प्रमुख विरमान रास्कोटीले कार्यक्रममा बोल्दै यस क्षेत्रका स्थानिय बासीलाई धन्यवाद दिनु भएको छ । स्थानिय स्तरको दबाबले गर्दा आफुहरुले काम तिब्र गतिमा विद्युत विस्तारको कार्यलाई अगाडी बढाएको बताउनु भयो । साथै कन्डक्टरको अभावमा पनि क्षेत्रिय प्रसारणबाट तारको व्यवस्था गरी बत्ति बालिएको बताउनु भयो । साथै विद्युतको जोखिमबाट बच्न स्थानियलाई सुरक्षाको उपाए बारे जानकारी गराउनु भयो । कार्यक्रममा वडाध्यक्ष भिम बहादुर केसी, हिम्मत पोख्रेल, प्रअ रोमाखर बन्जाडे लगाएतले बोलेका थिए ।

यस अघि त्यस क्षेत्रका केही अगुवाको नेतृत्वमा स्थानियहरुले विद्युत विस्तारको कार्य रोकिएकोमा आपत्ति जनाउँदै बिरोध स्वरुप दियालो र लाल्टिन बोकेर नगर हुदै विद्युत प्राविधिकरण शाखा अर्घाखाँचीमा ज्ञापनपत्र सहित डेलिकेशन गएका थिए । त्यस समयमा नेपाल विद्युत प्राधिकरण जिल्ला शाखाका प्रमुख विरमान रास्कोटीले कार्याालयको तर्फबाट साउन देखि रोकिएको विद्युत विस्तारको कार्य अगाडी बढाईने प्रतिबद्धता अनुसार काम अघि बढेको थियो । उक्त कार्यलाई सम्पन्न गर्न केही थप बजेट विनियोजनका लागि नगर सभाले निर्णय समेत गरेको थियो ।

त्यस्तै अर्का सामाजिक अभियान्ता गोविन्द रसायलीले पनि उक्त अभियानको नेतृत्व गरी स्थानिय बासीलाई जिल्ला सम्म पुर्‍याई दबाब सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘यती छिट्टै गाउँमा बिजुली बल्ला भनेर पत्यार नै लागेको थिएन । अब हामी पनि उज्यालोमा बस्न पाएकोमा खुसी लागेको छ ।’ एक स्थानिय बासी ज्ञान बहादुर परियारले प्रतिकृया दिए ।
विद्युत प्राधिकरणकको निरन्तरको प्रयास र स्थानिय उपभोक्ताहरुको श्रमदानबाट मात्र विद्युतीकरणको कार्यले सार्थकता पाएको हो । यसरी सिद्धारामा बिजुली उद्घाटन भएपछि स्थानीयहरु खुसी व्यक्त गरेका छन् ।

साथै सोही कार्यक्रममा पार्टीका पार्टी प्रतिनिधि, नगर तथा स्थानिय स्तरका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । आमन्त्रित अतिथीहरुलाई स्वागत स्वरुप पञ्चेबाजा सहितको सांस्कृतिक झाँक्रि प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा प्रदेश तहबाट बिनियोजित २० लाखको लागतमा बन्दै गरेको मोटरबाटोको अनुगमन समेत गरिएको थियो

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १२ : ०४ बजे