२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सिउटीको पोष्टमा मुहानको आधा दर्जन गोल, सञ्जुको ह्याट्रिक



मायादेवी अनलाइन, कपिलवस्तु ।

आयोजक मुहान एफसी ‘ए’ बाणगंगा ३ राजापानीमा जारी जिल्लास्तरीय फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बलियो प्रतिद्वन्दी सिउटी एफसीलाई ६–१ गोल अन्तरले पराजित गरी मुहानले सेमिफाइनलमा स्थान पक्का गरेको हो । रोमाञ्चक प्रतिस्पर्धाको पहिलो हाफमा एकएकको बराबरी भए पनि दोश्रो हाफमा भने मुहान सिउटीसामु हावी देखियो । पहिलो हाफको १४ मिनेटमा मुहानको लागि जर्सी नम्बर १० का खेलाडी सञ्जु सेनले गोल गरी अग्रता दिलाएका थिए । त्यसको केही समयपछि सिउटीका जर्सी नम्बर ९ का खेलाडी सुमन क्षेत्रीले २७ औँ मिनेटमा गोल गरी खेल बराबरीमा लगेका थिए ।  पहिलो हाफ बराबरीपछि फरक रणनीतिका साथ मैदान उत्रेका दुवै टोलीले उत्कृष्ट सुरुवात गरे पनि मुहानको अग्रपङतीलाई सिउटीले रोक्न सकेन । दोश्रो हाफको चौथो र पाँचौ मिनेटमा सञ्जुले गोल गरी आफ्नो ह्याट्रिक पुरा गरेका थिए । दोश्रो हाफको चौथो मिनेटमा पाएको पेनाल्टीलाई सञ्जुले सोझै जाली चुमाएका थिए । त्यसपछि पनि सञ्जुलाई गोल गर्नबाट सिउटीले रोक्न सकेन । दोश्रो हाफको १३ औँ मिनेटमा फेरि सञ्जुले ब्यक्तिगत चौथो गोल गरी टिमलाई ४–१ को अग्रता दिलाएका थिए । त्यसपछि मुहानको लागि जर्सी नम्बर १५ का आशिष विसी र १३ का सन्दिप थारुले गोल गरी ६–१ को जित दिलाए । सन्जुले आजको खेलसंगै २ खेलमा ९ गोल गर्न सफल भएका छन् । उनले यसअघि पनि ह्याट्रिकसहित ५ गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सुरु हुने छन् । मुहान ए संगै सनराइज एफसी मोतिपुर,सूर्यादय युवा क्लव बुङची र न्यू बुद्ध स्पोर्टस बनकट्टी सेमिफाइनल स्थान गर्न सफल भएका छन् ।

बुढासुड्डा

मंगलबारको बुढासुड्डा खेलमा नव प्रभात युवा क्लव ठाकुरापुर विजयी भएको छ । ठाकुरापुरले सनराइज एफसी मोतिपुरलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नव प्रभातको लागि नेत्र मल्ल, गिर बहादुर मल्ल, हरि चौधरी,सुनिल शोमै र सुजित शोमैले गोल गरेका थिए भने सनराइजको लागि एक मात्र सान्तवना गोल बिमल थापाले गरेका थिए । बुधबार पनि बुढासुड्डाका अरु खेल हुने छन् । यही असोज १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले ३५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । विधागत तर्फ पनि खेलाडीले पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ११ : ०७ बजे