२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मुल्यबृद्धिको असरः सीमापारी दशैंको रौनक, वारी सुनसान



मायादेवी अनलाइन, कपिलवस्तु ।
दशैं जति नजिकिदै छ, किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कदै छ । तर नेपालमा होइन सीमा पारी । दशैको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी लगायतका मुख्य बजारमा दशैंको कुनै रौनक छैन् ।
दशैका लागि सस्तो, राम्रो र आर्कषक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीहरुको समस्या विगतका बर्षहरु भन्दा कम छैन यतिखेर । सीमापारीका बढ्नी, खुनुवा, अलीगढवा, लगायतका भारतीय बजारहरुमा यतिखेर नेपालीहरुको बाक्लो चलहपलह छ ।
दशैंका लागि अत्यावश्यक वस्तु देखि विलासिताका सामग्रीहरु समेत किन्न नेपालीहरु भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालीको दशैमा नेपालमा हरेक सामानमा मुल्य बृद्धि अचाक्ली बढेको छ । तरकारी, किराना सामान, कपडा, ईलेक्ट्रिस, सौन्दर्य लगातयको सामानमा भारी बृद्धि हुनुले पनि यसपालीको दशैमा भारतीय बजारमा नेपाली उपभोक्ताहरुको आकषर्ण बढेको हो ।
मुख्यगरी नेपाली उपभोक्ताहरु कपडालत्ता, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिज सम्म किन्न भारतीय बजार धाउने गरेका छन् । सीमापारीका बजारहरुमा पाइने वस्तुहरु नेपाली बजारमा दोब्बर महंगो हुने भएकोले आफुहरु भारतीय बजार तर्फ आर्कषित भएको उपभोक्ताहरुको भनाई छ ।
‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा २ हजार बढी पर्दैन, दशै खर्चिलो छ बचत त गर्नै पर्यो ‘चन्द्रौटाबाट बढनी किनमेलका लागि गएकी गीता नेपालले भनिन । खाद्यान्न वस्तुहरु पनि निकै सस्तो भएकोले उपभोक्ताहरु भारतीय बजारमा आर्कषित हुने गरेको देखिन्छ ।
जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल संचालन गरेमा उपभोक्ता भारतीय बजारमा कम मात्र जाने उपभोक्ता हक हित संरक्षण मञ्चले जनाएको छ । पछिल्ला बर्षहरुको तुलनामा अहिले नेपालमै लत्ताकपडा तथा जुत्ताचप्पल गुणस्तरीय तथा सस्तो पर्ने भएपनि उपभोक्ताको मानसिकतामा परिर्वतन नआएको नेपाली व्यापारीहरु बताउँछन् ।
भारतीय बजार भन्दा पनि सस्तोमा लत्ताकपडा दिएपनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल संचालन गरेर बसकी सिता घिमिरेले बताईन । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महशुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महंगो हुन जाने उनी बताउँछिन ।
कृष्णनगर भन्सार र मर्यादपुर भन्सार कार्यालयका अनुसार विगत एक साताको अवधि भित्र उपभोक्ताहरुले जिल्लाका विभिन्न सीमानाकाबाट कपडार उपभोग्य बस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सार समेत नतिर्दा राज्यलाई समेत लाखौ राजस्व घाटा लागेको भन्सार कार्यालयले जनाएको छ ।
ब्यापार संघ चन्द्रौटाका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए । सानो वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मुल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए । ‘नेपालीहरुको मानसिकता सीमापारी सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउदै व्यापारीहरुले ठग्ने गर्दछन्’ उनले भने ।
नेपाली बजारमा अनुगमन गर्न सक्ने सम्भावना रहेपनि भारतीय बजारमा भने सो गर्न नसकिने हुँदा विगतका दिन सम्झेर भारतीय बजारमा किनमेल गर्न जानु मूर्खता रहेको उनी बताउँछन ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ७ : ४८ बजे