११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

आँखा दानका लागि पत्रकार निर्भिकले दिए इच्छापत्र



काठमाडौं ।

पत्रकार निर्भिकनारायण भुर्तेलले आँखा दानका लागि इच्छापत्र दिएका छन्। भुर्तेलले जन्मदिनको अवसरमा आफ्नो मृत्युपछि आँखा दान गर्नका लागि आइतबार इच्छापत्र दिएका हुन् । आफ्नो निधनपछिको योजनालाई सार्थक बनाउन तथा आफ्नो आँखाबाट अरु कसैले सुन्दर संसार देख्न सकोस् भन्ने उद्देश्यले आफू जन्मेको दिन तिलगङ्गा आँखा प्रतिष्ठानमा इच्छापत्र बुझाएको पत्रकार निर्भिकले बताए ।

‘मान्छेको शरीर एकदिन खरानी भएर जान्छ, कसैले पनि यो शरीरलाई लिएर जाँदैनन्”, पत्रकार भुर्तेलले भन्नुभयो, “मानव भएर जन्मन पाएको सुअवसरलाई मरेपछि पनि सदुपयोग गर्न आँखा दान गर्ने निर्णय गरी इच्छापत्र बुझाएको हुँ ’ उनले भने । आँखा दान, महादान भन्ने सुन्दै आएको र पहिलेदेखि नै मृत्युपछि आँखा दान गर्ने योजना बनाए पनि बल्ल आएर पूरा भएको पत्रकार भुर्तेलले बताए ।

आफू नमर्दासम्म दिन नमिल्ने र मरेपछि आफैँले दिन नमिल्ने भएकाले घरपरिवार तथा समाजमा यसबारेमा जानकारी गराउँदै पत्रकार भुर्तेलले तिलगङ्गा आँखा प्रतिष्ठानमा खबर गरिदिन पनि अनुरोध गरे । हाम्रो समाजमा मृत्युपश्चात अङ्गदान गर्नुहुन्न भन्ने मान्यता रहे पनि यसलाई चिर्दै आफूबाटै शुरुआत गरेको पत्रकार भुर्तेलले बताए । आँखा दान भनेको पूरै आँखा निकाल्ने नभई मृत्युपछि आँखाको नानीमात्रै दान गर्ने हो, नानी निकाल्दैमा मृतकको अनुहार कुरुप नहुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखा प्राविधिक किरन इजम सुब्बाले बताए ।

नेपालमा एउटा आँखा बराबर १२ जना बिरामी आँखा प्रत्यारोपणका लागि प्रतिक्षामा बस्ने गरेको तिलगङ्गा आँखा प्राविधिक सुब्बाले बताए । मृत्युपश्चात् आँखा दान गरेमा दृष्टिविहीनले पनि सोही आँखाबाट देख्न सक्ने भएकाले यो निक्कै पून्य कार्य हो । रासस

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  २ : २१ बजे