४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

शहर बजार सुनसानः गाउँघरमा दशैँको चहलपहल



मायादेवी अनलाइन, वाणगंगा ।
दशैँ नजिकिँदै गर्दा कपिलवस्तुका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल बढेको छ । जिल्लाका मुख्य बजार भने सुनसान जस्तै छन् ।
यहाँका मुख्य बजारमा बसेर अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदा पछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम तौलिहवा, जितपुर चारनम्बर, चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, इमिलिया बजार सुनसान बनेको हो ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको बुद्धभूमि नगरपालिका १ महेन्द्रकोटका स्थानीय युवराज घिमिरेले बताउनुभयो । ‘कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि यहाँका गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।’ उहाँले भन्नुभयो ।
शनिबारदेखि सदरमुकामका बजार करीब करीब सुनसान बनेको वाणगंगा ४ झुँगाका खिमानन्द शर्माले बताउनुभयो ।
यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो ।
बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ । त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति : २० आश्विन २०७६ सोमबार ००:००  २ : ५४ बजे