१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

वडा दशैँमा मान्यजनबाट टिका र जमरा थाप्ने क्रम जारी, कस्तो भयो भिभिआइपीको दशैँ ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज वडा दशैँको मुख्य दिन । मान्यजनबाट टिका जमरा थाप्ने क्रम जारी छ । टिकाको उत्तमसाइत आज विहान १० ः ३५ बजेपछि देश तथा विदेशमा रहेका नेपालीहरुले टिका लगाएर आफूभन्दा माथिका मान्यजनबाट आशिर्वाद लिइरहेका छन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ।

जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ। घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो।

शक्तिस्वरुपा दुर्गा माताले महिसासुर बध गरेपछि दसैं मनाउन थालिएको विश्वास छ। दसैंका कथाहरू यसमा मात्र सीमित छैनन्। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ व्यक्तित्व तथा सर्वसाधारणलाई टीका लगाइदिनु भएको छ । शितलनिवासमा राष्ट्रपतिले अहिले सर्वसाधारणलाई पनि टीका लगाइदिइरहनुभएको छ । यसअघि उहाँले मूल पुजारीको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रप्रमुखलाई दशैँ घरका मूल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाइदिने परम्परा छ ।
राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति भवनमा पुनले ८६ वर्षीय बुबाबाट दशैँको टीका लगाउनुभएको हो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको छ । प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बुबाको हातबाट टीका र जमरा लगाउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेसम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका नेता लगायतलाई र दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

यो वर्ष आज मात्र टीका लगाइदिने उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ९० वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाउनुभएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई दशैंको टीका लगाई दिएका छन्। पूर्वराजा शाहले महाराजगंजस्थित निर्मल निवासमा मंगलबार अपरान्ह ४ बजेबाट सर्वसाधारणलाई बडा दशैंको टीका लगाई दिएका हुन्। पूर्वराजाको हातबाट टीका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो। पूर्व राजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०७६ मंगलबार ००:००  ७ : ०९ बजे