२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्रहरीको क्षमता बढाउन तालिम केन्द्रहरुलाई प्रविधियुक्त बनाउनु पर्छः मुख्यमन्त्री पोखरेल



बुटवल ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रहरीको क्षमता बढाउन तालिम केन्द्रहरुलाई प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय देखिएको बढ्दो साइबर र आर्थिक अपराधका चुनौतीहरुको सामना गर्न प्रहरीको क्षमता बढाउनु पर्ने र त्यसको लागि तालिम केन्द्रहरु प्रविधियुक्त बनाउनु पर्ने बताएका हुन्।
‘पहिले सामाजिक अपराध बढी थियो, अहिले केही कम भएको छ। तर साइबर र आर्थिक अपराध बढेको छ। यस्ता अपराधलाई निस्तेज पार्न सोही अनुसार प्रहरीलाई सबल बनाउन जरुरी छ’, उनले भने।
आर्थिक क्रियाकलाप बढेपछि स्वभाविक रुपमा समाजमा अपराधका कारण विभिन्न हिंसा जन्मने भएकाले प्रभावकारी नियन्त्रण गर्नुपर्ने उनको धारणा थियो।  पछिल्लो समय सामाजिक हिंसाहरु छुवाछुत, महिला हिंसा, दुर्व्यवहार जस्ता घटनाहरु सचेतनाका कारण खुलेर बाहिर आएको भन्दै यस्ता घटनाबाट पिडित भएकाहरुलाई छिटो सम्बोधन गर्न सके प्रहरी संगठन प्रति नागरिकको विश्वास बढ्ने समेत पोखरेलले बताए।

उनले कारागारको क्षमता बढाउनुभन्दा अपराधिक गतिविधीलाई नियन्त्रण गर्ने तर्फ सबैको ध्यान जानुपर्ने पनि सुझाए। ‘कारागारहरु साँघुरा भए भन्दै सधै क्षमता मात्र बढाउने होईन। अपराध कम गर्ने हो। तर अपराध गरेर उन्मुक्ति पाईदैन भन्ने बुझाउन भने जरुरी छ’, उनले भने। मुख्यमन्त्री पोखरेलले समाजको विकास हुँदै जाँदा सुरक्षाका चुनौती पनि बढ्दै जाने भएकाले सुरक्षाका आवश्यक तरिकाहरु पनि परिवर्तन गर्नुपर्ने बताए। उनले प्रहरीलाई नियमित रुपमा पुनर्ताजगीय तालिम आवश्यक पर्ने भएकोले प्रदेश सरकारले तालिम केन्द्रलाई विशिष्ट तालिम केन्द्रका रुपमा विकास गर्न लागेको जानकारी दिए।

प्रकाशित मिति : २४ आश्विन २०७६ शुक्रबार ००:००  ६ : १४ बजे