८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

चिनियाँ राष्ट्रपति सि आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चीनफिङ पहिलो पटक नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी शनिबार साँझ करिब पाँच बजे भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
नेपाल आएपछि राष्ट्रपति सिले साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै साँझ ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
आइतबार बिहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने छ भने १२ः३० बजे नेपालको दुईदिने भ्रमण पूरा गरी चिनिया राष्ट्रपति सि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यता चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणमा सरकारले अति विशिष्ट भन्दा माथिको सुरक्षा व्यवस्था गरेको छ । नेपालले भीभीआइपीलाई दिंदै आएको सुरक्षामा सीका लागि अहिलेसम्मकै उच्च र विशिष्ट सुरक्षा व्यवस्था अबलम्बन गरेको हो ।
सीको सुरक्षामा १५–१६ हजार नेपाली सुरक्षाकर्मी परिचालन भएका छन् । तिब्बती शरणार्थीबाहेक मधेसी समुदाय र मानवअधिकार संघसंस्थाले समेत सीको भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने संकेत पाएपछि सरकारले झन् उच्च सुरक्षा व्यवस्था गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अघि भएको राजकीय भ्रमणमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैबीच चीनका राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता तय भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा ‘वान अन वान’ भेटवार्ता तय भएको हो ।
अध्यक्ष प्रचण्ड निकट रहेर चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि राम्रो सम्बन्ध बनाएका नेकपा स्थायी समितिका एक जना सदस्यका अनुसार दुई पार्टीका प्रमुखका हिसावले एक्लाएक्लै भेटवार्ता तय भएको हो ।
यता चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणका क्रममा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणको अवसर स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ६ : ३० बजे