२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

चीनले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्छ – राष्ट्रपति सी



काठमाडौँ ।

चीनले नेपाल भ्रमण वर्ष २०२० का लागि सहयोग गर्ने भएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएको हो । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताउनु भयो ।

यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताउनु भयो । उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने बताउनु भयो ।

केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने सीले बताउनु भयो । अरनीको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित बताउँदै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाउनु भएको छ ।सीले भने, ‘नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध छ। हामीबीच कुनै समस्या छैन, केबल मित्रता मात्रै छ।’

सीले नेपालको राजनीतिक स्थायित्वप्रति प्रशन्नता व्यक्त गर्दै उहाँले भन्नुभयो । ‘यहाँको सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्त खुशी भएको छु।’ उहाँले नेपाल चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान आफू काठमाडौं आइपुगेको उल्लेख गर्दै भने, ‘म दुई देशको सम्बन्धको नयाँ खाका कोर्न यहाँ आइपुगेको छु। मलाई आशा छ आगामी दिन दुई देशबीच अझ घनिष्ट सम्बन्ध र बलियो सहकार्य हुनेछ।’

राष्ट्रपति सीले नेपालसँग चीनले पुस्तौंपुस्ताको मित्रता र सहकार्य चाहेको बताउँदै उहाँले भन्नुभयो, ‘हिमाल वारपारको साझा भविष्यका लागि हामी मिलेर अघि बढ्नुछ। हामीले चीन नेपाल सीमापार रेलमार्गको सुरुवात गर्नेछौँ। अरनिको राजमार्गको स्तरोन्नती गर्नेछौँ। हिमाल वारपार कनेक्टिभीटी संजालको विकासलाई प्राथमिकतमामा राखेका छौं।’

सीले नेपालको सन् २०२० भ्रमण वर्षलाई सफल बनाउन बढीभन्दा बढी चिनियाँ पर्यटक पठाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘दुई देशका सहरलाई भगेनी सम्बन्ध बनाउन लागि परेका छौँ।’

बुद्धको जन्मस्थल लुम्बनी क्षेत्रको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘चीनमा बुद्ध धर्म मान्ने मान्छको संख्या सबैभन्दा बढी छ। अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ। यसले पनि नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन मद्दत गर्नेछ।’

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ९ : ३३ बजे