१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता



काठमाण्डौ ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ । दुईदिने भ्रमण सकेर उहाँ १ः३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई बिदाइ गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीपरिषद्का सदस्यहरुको सहभागिता रहेको थियो ।
सोल्टी होटेलबाट विमानस्ठल फर्कने क्रममा राषट्रपति सीलाई बिदाइ गर्न सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो ।
समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो । राष्ट्रपति सीलाई स्वागत गर्न उहाँका समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रिपरिषद्का सदस्यहरु पनि विमानस्थल पुग्नुभएको थियो ।
राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।
राष्ट्रपति सीको सम्मानमा शनिबार विमानस्थलमा नेपाली सेनाले सम्मानगारत गार्ड अफ् अनर पनि प्रदान गरेको थियो । शनिबार नै उहाँले आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । साथै राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा पनि सी सहभागी हुनुभएको थियो ।
आइतबार बिहान राष्ट्रपति सी र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भयो । भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।
समझदारी पत्र आदानप्रदान कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  २ : २५ बजे