काठमाण्डौँ । नेपाल र चीनबीच २० बुँदे सहमती पत्रमा हस्ताक्षर हुने क्रममा रुपन्देहीको बुटवल उपमहानगर पालिकाले पनि प्राथमिकता पाएको छ । बुटवल उपमहानगरपालिका र मित्रराष्ट्र चीनको नगर सियानबीच भगिनी सम्बन्ध स्थापना भएपछि यसलाई ठुलो महत्वका साथ हेरिएको छ । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
चीनको ऐतिहासिक सहर सियान वर्तमान राष्ट्रपति सि जिगपिङको गृह नगर हो । राष्ट्रपति सि नेपाल भ्रमणको अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ् छीले सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा चीनका राष्ट्रपति सिसहित प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिति रहेको थियो ।
भगिनी सम्बन्धले संस्कृति आदान प्रदान र दुवै नगरबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास गरिएको छ । सियान चीनमा सांस्कृतिक रूपमा धनी नगर मानिन्छ भने बुटवल नेपालका लागि महत्वपूर्ण तथा ऐतिहासिक क्षेत्र मानिदै आएको छ । यसअघि सियान सहरका उच्च अधिकारीहरुले बुटवलको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उनीहरुले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको भन्दै प्रसंशा गरेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो ।






प्रतिक्रिया