२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

जापानमा ‘हागिबिस’ तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुग्यो, रेलहरु समेत डुवे



एजेन्सी ।  जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना हराइरहेको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुबानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

स्थानीयहरूले आँधी विगत ५० वर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन् ।

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ । आइतबार तुफानको प्रभाव कम भएको बताइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  १० : ०७ बजे