२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

वाणगंगाका प्रमुख प्रशासकीय अधिकृत मरासिनीको औपचारिक विदाई



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई सोमबार औपचारिक रुपमा विदाई गरिएको छ । वाणगंगा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि मरासिनीलाई विदाई गरिएको हो ।
वाणगंगा नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल लगायतको उपस्थितीमा भएको कार्यक्रममा उहाँलाई फूलमाला, अविर र खादा लगाई विदाई गरिएको थियो । मरासिनीको विदाई समारोहमा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरु सहभागी थिए । विदाई समारोहमा बोल्ने वक्ताहरुले मरासिनीले नगरमा खेल्नुभएको भूमिकाको प्रशंसा गरेका थिए ।

दुई बर्ष पहिले वाणगंगा नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा काम गर्न आउनुभएका मरासिनी स्थानीय तहको निर्वाचन पछि पनि प्रमुख प्रशासकीय अधिकृतको रुपबाट जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । निर्वाचनको बेला प्रमुख मतदान अधिकृतको रुपमा रहेर सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन भूमिका खेल्नुभएका मरासिनी पछि यिनै निर्वाचित जनप्रतिनिधिसंग प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर काम गर्दै आउनुभएको थियो ।
मरासिनी बौद्धिक र कुशल प्रशासकको रुपमा चिनिनुहुन्छ । नगरको विकासमा उहाँले खेल्नुभएको महत्वपूर्ण योगदानलाई नगरबासीले सधै स्मरण गर्ने सामाजिक अगुवाहरु बताउँछन् ।
वाणगंगा कपिलवस्तुको उत्कृष्ट नगरपालिकाका रुपमा चिनिन्छ भने बजेट खर्चको हिसाबले प्रदेशकै पहिलो स्थानीय तहको रुपमा नाम लेखाउन सफल भएको छ । नगरपालिकाको बेरुजु शुन्य छ । स्थानीयको लागत सहभागीता देशकै लोभलाग्दो छ ।
विकासको सुचाकांङ्कमा पनि वाणगंगा राम्रै स्थानीय तहमा रहेको छ । नगर खुल्ला दिसामुक्त, पूर्ण खोप सुनिश्चितता, पूर्ण विद्यार्थी भर्ना घोषणा भैसकेको छ भने अहिले बालमैत्री स्थानीय तह घोषणा गर्ने अधियानले तीव्रता पाएको छ ।
यति मात्र होइन् वाणगंगामा जनप्रतिनिधि र कर्मचारीको तालमेल राम्रै भएको देख्न सकिन्छ । स्थानीय सरकार बनेको दुई बर्ष यतै लागेपनि अझैसम्म सतहमा आउने गरी जनप्रतिनिधि र कर्मचारीबीच तिक्तताको अवस्था छैन् । यसले गर्दा नगरको विकासमा सकारात्मक प्रभाव परेको छ । सोही कार्यक्रममा मोतीपुर स्वास्थ्य चौकीमा कार्यरत रामप्रसाद गौतमलाई पनि विदाई गरिएको थियो । उहाँ यहाँबाट सरुवा भई रुपन्देहीको कञ्चन गाउँपालिकामा जानुभएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  १ : ३७ बजे