बुटवल ।
अबदेखि सिद्धबाबामा भिक्षुहरुले भिक्षा माग्न नपाउने भएका छन् । प्रदेश ५ को सरकारले प्रदेशभर नै भिक्षा माग्न निषेध गर्ने अभियान चलाएको छ । यसैको सुरुवात सिद्धबाबा मन्दिरबाट भएको छ ।
पाल्पा र बुटवलमा पर्ने दुईवटा सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न बसेका डेढ दर्जन व्यक्तिलाई हटाइएको थियो ।
प्रदेश सरकारले गत वर्ष घोषणा गरेको अभियानले आइतबारबाट औपचारिकता पाएको हो । सामाजिक विकास मन्त्रालयले पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा औपचारिक कार्यक्रम गरी प्रदेशलाई सडक मानवमुक्त र भिक्षा निषेध प्रदेश बनाउने कामको थालनी भएको घोषणा गरेको हो ।
सिद्धबाबा मन्दिरमा भिक्षा मागेर बस्दै आएका १८ जना मध्ये सात जनालाई मानव सेवा आश्रममा ल्याएर मठमन्दिर र सडकलाई भिक्षा निषेध र सडक मानवमुक्त अभियान सुरु गरिएको हो । त्यहाँ बस्दै आएकाहरुलाई मन्त्री सुदर्शन बरालले घर परिवार नभएको भए मानव सेवा आश्रममा जान तर मन्दिर परिसरमा बसेर नमाग्न आग्रह गरेका थिए ।
मन्त्रीको आग्रहपछि १८ जना मध्ये ११ जना भने आफ्नो घर परिवार रहेको भन्दै आश्रममा जान मानेनन् र त्यहाँबाट हटे । अब मन्दिर परिसरमा आएर माग्न बसेमा प्रहरी लगाएर हटाइने र कानून अनुसार कारवाही गरिने सामाजिक विकास मन्त्री बरालले जानकारी गराए ।
मन्त्री बरालले मानवता र कानूनका हिसाबले सडकमा मागेर खानु समाजको कलंक भएकाले यो अभियान थालनी गरिएको बताए ।
मन्त्रालयले प्रदेशलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमको सहकार्यमा बुटवलका लागि २५ लाख र नेपालगञ्जका लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ । बुटवलमा ४ कठ्ठा जग्गामा आश्रमको चारतले भवन बनाउन लाग्ने खर्च प्रदेश सरकारले नै ब्यहोर्ने भएको छ । भवनको अनुमानित लागत १० करोड रहेको छ ।
मन्दिरमा बसेर माग्ने मध्ये अधिकांश घरबार भएका र भिक्षा पाएको रकमले मदिरा खाने समेत रहेकाले प्रदेश सरकारको यो अभियानले भिक्षा दिने र लिने सवैलाई निरुसाहित गर्ने सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । सडक मानवका कारण मन्दिर दर्शन गर्न आउने भक्तजनमा समेत नकारात्मक प्रभाव परेकाले यो अभियानलाई सबै जिल्लामा कार्यान्वयनमा ल्याउनुपर्ने गुरुङले बताए ।
२७ आश्विन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया