१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

गुल्मीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी, बलात्कार मुद्दाका सबैभन्दा बढी



गुल्मी । 

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् । पाँच महिला र २० पुरुष गरी २५ को क्षमता रहेकामा अहिले ८३ जना कारागारमा छन् । सोमबारसम्म कारागारमा पुरुष कैदी ५० र बन्दी २८, महिला कैदी तीन र बन्दी एकजना छन् । कारागारका सूचना अधिकारी प्रभात मल्लिकका अनुसार एकजना आश्रित बालिकासमेत रहेकी छिन् । कारागारको क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा निकै चुनौती थपिएको छ ।

बलात्कार मुद्दाका सबैभन्दा बढी 

कारागारका ८३ जनामध्ये सबैभन्दा धेरै बलात्कार मुद्दाका २४ कैदी र १७ बन्दी पुरुष कारागारमा छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका १५ कैदी, एक बन्दी र तीन महिला कैदी रहेको सूचना अधिकारी मल्लिकले जानकारी दिए । बिहान आधारएक घन्टा लगाएर शौचालय र रातमा एक प्रहर सुतेर उठ्नुपर्ने बाध्यता छ । ‘गल्लीमा समेत सुत्छौं, शौचालय र पानीको उस्तै समस्या छ,’ इस्मा गाउँपालिका ५ का धनबहादुर चुँदाराले भने, ‘कारागार र खोर उस्तै भए, भेडाबाख्राजस्तै बसेका छौँ ।’

दरबन्दी छ, कर्मचारी छैनन्

गुल्मी कारागारमा कर्मचारी अभाव देखिएको छ । कारागारको दरबन्दी १० जनाको हो । अहिले दुईजना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । त्यसमध्ये पनि एकजनाको सरुवा भएको छ । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरिदार, एक सह–लेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लिकले बताए । चारजना करारका कार्यालय सहयोगी रहेका छन् ।

पत्र आउँछ, कर्मचारी आउँदैन

सामान्य स्वास्थ्योपचारका लागि पनि अस्पताल पुग्नुपर्छ । कारागारमा अहेव पद वषौँदेखि रिक्त छ । दैनिक एकजना कार्यालयको कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि अस्पताल पुग्न ठिक्क हुने कारागार प्रमुख अर्जुनध्वज थापाले बताए । त्योसँगै कैदीबन्दीको खानपान र अन्य व्यवस्थापनमा आफूहरूलाई थुप्रै समस्या रहेको कारागारका कर्मचारी थापाले बताए । तर, कर्मचारी आउँदैनन् । अहिले पनि कारागारमा नायब सुब्बाको पत्र आएको छ । तर, कर्मचारी आएका छैनन् । केही दिनमा कार्यालय प्रमुख मात्रै कार्यालयमा हुने अवस्था रहेको छ । ‘दुईजना मात्रै कार्यालयमा  छौँ  । बैठक, तालिम तथा बिरामी परे सहयोगी मात्रै हुने अवस्था आएको छ,’ थापाले भने, ‘पत्र आउँछ कर्मचारी आउँदैनन्  ।’ उनले सुरक्षा संवेदनशीलताका हिसाबले पनि कारागार चुनौतीपूर्ण भएकाले कर्मचारीहरूको दरबन्दी पूरा हुनुपर्ने बताए । कारागार उद्यमशीलताका दृष्टिले समेत अब्बल भएकाले उनीहरूलाई आवश्यक सामग्रीहरूको उपलब्धता र बिक्री वितरणमा पनि कर्मचारी नभएका कारण मुस्किल परेको थापाले बताए ।

कारागार सिसिटिभीको निगरानीमा

सुरक्षालाई ध्यानमा राखेर गुल्मी कारागारमा सिसिटिभी जडान गरिएको छ । कारागार व्यवस्था विभागको सहयोगमा कारागारमा १० वटा क्यामेरा जडान गरिएको हो । कारागारको चौकिल्ला, प्रशासन र कैदीबन्दी बस्ने भवन तथा प्रमुख गेटमा क्यामेरा सेट गरिएको कारागारका सूचना अधिकारी प्रभात मल्लिकले जानकारी दिए । विभागको साढे दुई लाखको लागतमा क्यामेरा जोडिएको हो । क्यामेरा जडानसँगै सुरक्षा र कारागार सञ्चालनमा सहजता आएको छ । त्यस्तै, कैदीबन्दीहरूको दैनिक विद्युतीय हाजिरीसमेत सुरु गरिएको कार्यालयले जनाएको छ ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २८ आश्विन २०७६ मंगलबार ००:००  ५ : २७ बजे