२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

विजयनगर गाउँपालिकाद्धारा शुभकामना आदान प्रदान



मायादेवी अनलाइन, चन्द्रौटा ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले चाडपर्वलाई लक्षित गरेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार गाउँपालिकाको कार्यालय प्राङ्गणमा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, अर्जुन केसी, विरेन्द्र कानौडिया लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मानव विकासको सुचाङ्कमा पछाडी परेको ठाउँको विकासलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सिंचाईका लागि यस बर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रको सिंचाई समाधानका लागि राप्ती डाइभर्सनको काम भइरहेको जनाउदै उहाले राजकुलो सिंचाई योजना यसै बर्ष सम्पन्न गर्ने गरी काम हुने बताउनुभयो ।

विजयनगर गाउँपालिकामा पुग्ने गरी सिँचाईको मुख्य रहेको राज कुलोलाई स्थलगत निरिक्षण गरी प्राथमिकतामा राखेर सिँचाई पुरा हुने गरी योजना सञ्चालन गर्ने मन्त्रीले दावी गर्नुभयो । यस्तै सिँचाईका लागि तालतलैया, पोखरीलाई व्यवस्थापन गरी पानी सङ्कलन गर्ने योजना रहेको चौधरी जानकारी गराउनुभयो । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकामा ३ वटा ओभरहेड ट्यांकी निर्माणको काम लगतै सुरु हुने उहाले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिकामा अझै पनि स्तरिय अस्पताल, उच्च शिक्षाका लागि क्याम्पस नभएकोले यसका लागि प्रदेश सरकारले विचार गरिदिनु पर्ने बताउनुभयो । अझै पनि गाउँपालिकामा धेरै विकास निर्माणका काम बाँकी रहेको र गाउँपालिकाको बजेटले विकास निर्माणका कामहरु गर्न नसकिने हुँदा प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको समेत थापाले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  १० : १२ बजे