२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

‘वाणगंगामा सुरु भयो नगर सरसफाई र हरियाली प्रवर्धन अभियान’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा सरसफाईका लागि नयाँ कामको थालनी भएको छ । नगरपालिकालाई सुन्दर र हरियाली बनाउनका लागि शुक्रबार देखि नयाँ कामको थालनी भएको हो ।
विकासको दृष्टिले कपिलवस्तुका अरु स्थानीय तह भन्दा अब्बल मानिदै आएको भएपनि सरसफाईमा वाणगंगा पछाडि थियो । फोहर राख्ने डम्पिङ साइट बनाउन नसक्दा नगरपालिकाले पूर्व पश्चिम राजमार्गको वाणगंगा पूलमै फोहर फाल्ने गरेको छ । जसले राजमार्गमा ओहरदोहोर गर्दा दुर्गन्ध बढाएको छ भने वाणगंगाको पूल चोक, बालापुर, बोडगाउँका नागरिकलाई दुर्गन्धले सास्ति दिएको छ ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको आवगमनसंगै सुरु भएको नगर सरसफाई र हरियाली प्रवर्धन कार्यक्रमले उचित महत्व राख्ने अपेक्षा गरिएको छ । अभियान महिनाको दुई पटक सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मायादेवी अनलाइनलाई बताउनुभयो । प्रत्येक महिनाको १ र १५ गते दुई दिन यो कार्यक्रम सञ्चालन हुने सापकोटाको भनाई छ । सरसफाई अभियानलाई स्वयम्सेवी भावनाले अगाडी बढाईने उहाँले बताउनुभयो ।
आफ्नो नगर सुन्दर र हरियाली बनाउने दायित्त नगरबासीको पनि भएकोले स्वतस्फूर्त नगरबासी यो अभियानमा सरिक बन्न सक्नेछन् । सरसफाईको नाममा बर्षेनी लाखौं रकम खर्च हुने र कामको प्रगती नदेखिने प्रथाको पनि यो अभियानले अन्त्य गर्ने नगरबासीले अपेक्षा लिएका छन् । गत आवमा नगरपालिकाले ‘म सफा गर्छु मेरो नगर अभियान’को शुभारम्भ गरेपनि यसले निरन्तरता पाउँन सकेको थिएन । अभियानमा लाखौं रकम खर्च भएको तर अभियान केही हप्तामै सकिएको भन्दै नगरपालिकाको आलोचना पनि भएको थियो । यद्यपि वडा नं. ७ ले सरसफाईको क्षेत्रमा जिल्लामै नमुना काम गर्दै आएको छ । वडा अध्यक्ष विष्णु गिरीले गत बर्ष देखि वडाको सरसफाईमा जिल्लामै नमुना काम गर्दै आउनुभएको छ । सरसफाईमा ध्यान नदिनेलाई वडाबाट दिने सिफारिस रोक्कासम्मको चुनौती मोलेर वडाध्यक्ष गिरीले वडामा रचनात्मक कामको सुरुवात गर्दै आउनुभएको छ । यो आवमा सरसफाई र सुन्दर वडा बनाउनका सयौं फूलका विरुवा वितरण गर्नुभएको छ भने उत्तिकै मात्रामा कागतीका विरुवा पनि वितरण गर्नुभएको छ ।


शुक्रबार वडा नं. ४ मा पर्ने जितपुर चारनम्बर, सिद्धिपुर लगायतको स्थानमा सरसफाई गरिएको छ । नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं. ४ का वडाअध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नं. १ की वडा अध्यक्ष बालकुमारी पन्त, नगरका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई, शिक्षा अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख खिमबहादुर जिसी, नगरपालिकाका अधिकृत केशवराज भट्टराई, नगर सभाका सदस्य, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ नगर विकास समितिका अध्यक्ष विष्णु थापा, वाणगंगा वेल्फेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण, गजेहडा, वाणगंगा भूपु सैनिक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजेन्द्र विक्रम शाह, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्य, युवा क्लव, उद्योगी व्यापारी लगायतको उपस्थिती रहेको थियो ।
अभियानमा सहभागी नगर प्रमुख थारुले नगरमा राम्रो अभियानको शुभारम्भ गरिएको भन्दै यसमा सरिक हुन सबैमा आग्रह गर्नुभएको छ । नगरको विकासमा सबैको हातेमाले जरुरी रहेको भन्दै सरसरफाई अभियान दीर्घकालिन महत्वको हुने विश्वास व्यक्त गर्नुभयो ।वडा नं. ४ का वडाध्यक्ष क्षेत्रीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन नगरका स्वास्थ्य शाखा प्रमुख ठगप्रसाद पौडेलले गर्नुभएको थियो ।

अभियान अन्र्तगत कार्तिक १५ गते चारनम्बर, बैरिया लगायतको स्थानमा सरसफाई अभियान सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ५२ बजे