बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको चेङ्दुबाट गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि प्रस्ताव गरेका छन् । चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिटसिएटिभ (बिआरआइ) सिचुवान अन्तर्रा्ष्ट्रिय मैत्री शहरहरूको सम्मेलनमा भाग लिन गएका मुख्यमन्त्री पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् ।
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उनले सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताए ।
उनले भ्रमण विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदान प्रदानका लागि फलदायी भएको बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वका ३२ देशका ४३ वटा प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा माननीय मुख्यमन्त्री पोखरेलले नेपाल—चीन सम्बन्ध र सहकार्यका बारेमा बोल्दै चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा र्पुयाएको चर्चा गरे ।
राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआइ एक विश्वव्यापी अभियान भएको,यसमा आबद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ संभावनाहरू खोज्न लाभदायक हुने विचार मुख्यमन्त्रीले व्यक्त गरे ।
मुख्यमन्त्री नेपाल फिर्ता भएपछि केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै माननीय मुख्यमन्त्रीज्यूले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दुतावास खोल्ने बताउनुभयो । सम्मेलन पश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ ।
सम्मेलनको संस्कृति तथा पर्यटन सत्रमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी लगायतका पर्यटकीय स्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणको लागि निमन्त्रणा गरे । प्रदेश ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले महत्वपूर्ण रहेको उनले जानकारी दिए।
पर्यटकीय पूर्वाधार,औद्योगिक ग्राम र प्रविधिको प्रयोग गरी गरिएको विकास प्रदेश नम्बर ५ को सन्दर्भमा पनि लाभदायक रहेको उनले बताए । असोज २७ गते चीन गएका मुख्यमन्त्री पोखरेलसहितको टोली कार्तिक १ गते स्वदेश फर्किएको हो ।
२ कार्तिक २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया