चन्द्रकान्त न्यौपाने, कपिलवस्तु
मुलुकका विकृति हटाउन साहित्य महत्वपूर्ण अस्त्र भएको सर्जकहरुले बताएका छन् । देशभरको प्रतिनिधित्व गर्दै कपिलवस्तुमा जम्मा भएका २ दर्जनबढी बढी सर्जकहरुले अब मुलुकको सच्चा रुपान्तरणमा सिर्जनाहरुले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका हुन् ।
दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा शनिबार बाणगंगा ८ बोडगाउँमा सम्पन्न ६८ औँ दधि जयन्ति, साधारण सभा, कवि गोष्ठी, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार घनश्याम परिश्रमी न्यौपानेले देशमा भइरहेका विकृति विसंगती हटाउन स्रष्टारुको महत्वपूर्ण भूमिका भएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका उहाँले अहिले देशमा स्वच्छन्दताको नाममा अराजकता मच्चिएकाले सर्जकहरुले समयमै खबरदारी गर्न नसक्ने हो भने मुलुक बिग्रने बताउनु भयो ।
साहित्य मनोरञ्जनको माध्यम मात्र नभएर समाज मुखरित गर्ने विश्वासिलो आधार भएकाले समसामयिक बिषयबस्तुमाथि स्रष्टाहरुको कलम दौडनु पर्ने उहाँको भनाई छ । विश्व भाषा क्याम्पसका पूर्विय भाषा प्रमुख समेत रहनु भएका उहाँले अबका श्रष्टाहरुमा साहित्यको उच्च ज्ञान हुनुपर्ने बताउनु भयो । दधि स्मृति साहित्य समाजले देशकै नमुना साहित्यिक प्रतिष्ठानको रुपमा आफूलाई चित्रण गर्दै लगेकाले स्रष्टाहरुलाई सम्मान गरेर ठुलो गुन लगाएको उहाँको भनाई छ ।
कार्यक्रमका विशिष्ट अतिथि हिमलाल ज्ञवाली, ऋषि आजाद, राजेन्द्रकुमार आचार्य, ऋषिकेशव भारद्वाज, कृष्ण चुँदाली, तेजकुमार बौद्धाचार्य, दिलु श्रेष्ठ, डा. आत्माराम आचार्य, नित्यानंद पाण्डे, नकुल पौडेल लगायतले पनि सिर्जनाबाट देशमा रहेका विकृतिमार्फत प्रहार गर्दै संगति खोज्नु भएको थियो ।
कार्यक्रममा देशभर साहित्यमा सक्रिय रही योगदान दिनुभएका आधा दर्जन बढी स्रष्टाहरुलाई पनि सम्मान गरिएको छ । नवराज पाण्डेय ’चातक’ (रुपन्देही) शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, पशुपति मणि त्रिपाठी (कपिलबस्तु) आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, देवकी निरौला (बाँके) आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, अर्जुन कुमार पौडेल ’शर’ (दाङ), टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६ बाट सम्मानित हुनुभएको छ ।
यसैगरी राघवेन्द्र कुमार श्रीवास्तव (कपिलवस्तु) वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, महेश जंग कुँवर (काठमाडौ) पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान र पवन अधिकारी प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्यबाट सम्मान कपिलवस्तुबाट सम्मानित हुनुभएको छ । उहाँहरुलाई अभिनन्दन पत्र, दोसल्ला र नगदले सम्मान गरिएको थियो । सम्मानित साहित्यकारहरुले पनि रचना बाचनसहित मन्तव्य राख्दै समाजमा अहिले देखिएको भ्रष्टाचारी प्रवृत्ति र अराजकताविरुद्ध खबरदारी गर्नुभएको थियो । कार्यक्रमको अवसरमा विष्णु घर्ती भनभनेलीको कविता संग्रह चालिस चक्र र धनीराम रेस्मीको खण्डकाव्य अबोध चेलीको लोकार्पण गरिएको छ
कार्यक्रममा काठमाण्डौँदेखि नेपालगंज सम्मका केबी धुवाँले, गणेश खनाल, कृष्ण भुसाल, द्रोण बेल्बासे, विष्णु विवस, चन्द्रकान्त न्यौपाने, सुशील सापकोटा, आराध्य पौडेल, नकुल पौडेल, पवन अधिकारी लगायत डेढ दर्जन बढी स्रष्टा कविता, गजल,मुक्तक बाचन गरेका थिए । संस्थाका कोषाध्यक्ष लेखनाथ घिमिरेले आयब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाकी उपाध्यक्ष देवका भण्डारीको अध्यक्षता रसचिव समिर सायरको संचालनमा सम्पन्न कार्यक्रममा करिब १५० बढीको सहभागिता थियो ।
३ कार्तिक २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया