२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बाणगंगामा ‘लगानी सम्मेलन’ गर्न सकिने अनुभव छः प्रमुख प्रशासकीय अधिकृत सापकोटा



मायादेवी अनलाइन, कपिलवस्तु ।

बाणगंगा नगरपालिकामा प्रवेश गर्नेवित्तिकै ‘सरसफाइ र हरियाली प्रवद्धन’ कार्यक्रम गरी चर्चा कमाउनु भएका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले असम्भव भन्ने कुरा केही नभएको बताउनु भएको छ । जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र नगरबासीले चाहेमा नगरको विकासमा जुनसुकै कार्य गर्न सम्भव रहेको बताउँदै उहाँले जस्तोसुकै कठिन काम पनि सजिलै गर्न सकिने अनुभव आफूसंग भएको बताउनु भएको हो । रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले शनिबार गरेको रेगुलर मिटिङ्गको प्रमुख अतिथि बन्नुभएका उहाँले तिलोत्तमा नगरपालिका र बाणगंगा नगरपालिकामा तात्विक रुपमा धेरै भिन्नता नरहेको भन्दै यहाँ हर काम गर्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो– “तिलोत्तमा नगरपालिकाले भर्खर लगानी सम्मेलन गरेर देशभर स्थानीय तहको तागत देखाइसकेको अवस्था छ । यहाँ पनि त्यो असम्भव होइन । प्रशस्त श्रोत र सम्भावना छन् । सबैले चाहाने हो भने लगानी सम्मेलन यहाँ पनि गर्न सकिन्छ ।” तिलोत्तमा र बाणगंगा जवरजस्त घोषणा भएका नगरपालिका हुन् उहाँले थप्नुभयो– “प्रदेशमा यी २ अहिले पहिलो र दोश्रो नम्बरमा छन् । दोश्रो नम्बरमा रहेको बाणगंगालाई पहिलो नम्बरमा ल्याउन सकिन्न भन्ने प्रश्नै छैन ।” यसको लागि कुरा नभएर काम गर्नुपर्दछ । सापकोटाका अनुसार विकासमा फड्को मार्न ठुला कुराबाट नभएर साना कुराबाट काम सुरु गर्नुपर्ने बताउनु भयो । त्यो कुरा तिलोत्तमा नगरपालिकाबाट आफूले सिकेको उहाँको भनाई छ ।

उहाँले नगरले सरसफाई र हरियाली प्रर्वद्धन कार्यक्रम पनि त्यही सुरुवात भएको बताउँदै सबैको सकारात्मक साथ जरुरी रहेको बताउनु भयो । सापकोटाले एकैपटक सबै कुराको योजना सार्वजनिक गर्दा विश्वास लाग्न नसक्ने हो कि भन्दै नगरले क्रमिक काम रुपमा गरेर देखाउने उद्घोष गर्नुभयो । उहाँले आफू कर्मचारी नभएर नगरको बासिन्दाकै हैसियतले काम गर्ने बताउनु भयो ।
रोटरी मिडटाउनका पूर्व अध्यक्ष वासुदेव घिमिरेले कसैप्रति विभेद नगरी नगरले समान ढंगले काम गर्नेमा आफूहरु आशावादी रहेको भन्दै सोही अनुसार काम गर्न सापकोटालाई सुझाउनु भयो । क्लबका इलेक्ट प्रिजडेन्ट टोपनारायण भण्डारीले रोटरी सामाजिक कार्यमा नगरपालिका संग सधैँ सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँलाई रोटरी र रोट्र्याक्ट क्लवलका पदाधिकारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । छिमेकी रुपन्देहीको तिलोत्तमामा नगरपालिकालाई देशकैै नमुना बनाएर आएकाले सापकोटासंग बाणगंगाका जनताले पनि धेरै आशा गरेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  १० : ५२ बजे