मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलो पटक पुष्प खेती सुरु गरिएको छ । नगरपालिमा रहेका ८ जना युवाहरुले रिक बेद कृषि फर्म खोलेर पुष्प खेती सुरु गरेका हुन् ।
पुष्पमा मुलुकलाई आत्मनिर्भर बनाई युवाहरुको बिदेश पलायन रोक्न ब्यवसायिक सयपत्रीको खेती थालिएको हो । उनीहरुले ढाई बिघा खेत भाडामा लिएर तरकारीसंगै यस बर्ष देखि पुष्प खेतीको थालनी गरेका हुन् । तिहारलाई लक्षित गरी १० कठ्ठामा सयपत्री फूल लगाएका छन । २ बर्ष देखि ब्यवसायिक तरकारी खेती गरेका उनीहरुले पहिलो पटक ब्यवसायिकरुपमा पुष्प खेती गरेका हुन् ।
फर्मका संचालक युधीर पौडेलले तिहारलाई लक्षित गरेर आफुहरुले यस बर्ष देखि पहिलो पटक सयपत्रीको ब्यवसायिकरुपमा उत्पादन थालेको बताए । फर्ममा ४० लाख रुपैया लगानी भईसकेको छ । उत्कृष्ठ युवा कृषक तथा राष्ट्रपति पुरस्कार बिजेता भास्कर पंगेनीको प्रेरणाबाट आफुहरु ब्यवसायिक पुष्पखेतीमा लगेको पौडेलले बताए ।
गत साउन पहिलो सातामा चितवनबाट ३० हजारको बीउ किनेर ल्याएका थिए । बीउ, जोताई, सिंचाई लगायत गरी पुष्प खेतीमा एक लाखको हाराहारीमा लगानी गरिएको पौडेलले बताए । ‘सयपत्रीको फूल फूल्न थालेका छन, अबको १० दिन भित्र बोटभरी फूलहरु फक्रिनेछन’ खेतमा रहेको फूलेको सयपत्री फूललाई खेलाउदै उनले भने ‘अब लगानीको प्रतिफल तिहार अघि नै पाउने आशामा छौ’ ।
उनले सयपत्रीको माग बुटवल, भैरहवा, पोखरा लगायतबाट आएको बताए । ‘बिक्रीको खासै चिन्ता छैन, सके जति ब्यापारीलाई बेच्छौ बाँकी बचे गाडीमा डुलाएर बेच्ने योजनामा र्छौ’ उनले भने । एउटा मालाको सय र प्रति किलो ५ सय रेट तोकिएको छ । अर्का संचालक सन्तोष पन्तले नेपालमा पुष्प खेतीको राम्रो संभावना रहेको र छाटो सयममै राम्रो आम्दानी पाईने भएकाले पुष्पखेती गरिएको बताए ।
‘अझै पनि भारतबाट करोडौका फूल नेपाल भित्रिएको छ, त्यसलाई बिस्थाति गर्न पनि हामीले यो ब्यवसाय सुरु गरेका हौ’ उनले भने । फर्म मार्फत तरकारी र पुष्प ब्यवसाय गरी राम्रो आम्दानी लिन सकिन्छ भन्ने कुरा आफुहरुले प्रमाणित गरेर देखाउने उनले बताए ।
‘बिदेश जाने सोच बनाएका युवाहरु यही पनि राम्रो कमाउन सकिन्छ भन्ने सोचले फर्म संचालन गरेका हौ’ उनले भने । पन्तले ईजरायमा १० बर्ष सुसेरेको काम गरेको र त्यही बिवाह समेत गरेका थिए । युवा पलायन रोक्न र स्वदेशमै राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यले नै कृषि र पुष्प खेती गरेको उनले बताए । फर्मको रेखदेखका लागि ८ जना कामदार छन् ।
४ कार्तिक २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया