२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बाणगंगालाई सरसफाईमा नमुना बनाउन नगरप्रमुख, उपप्रमुख र कार्यकारी एकढिक्का



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकालाई सरसफाईमा प्रदेशमै नमुना बनाउन सबै एक ढिक्का भएर लाग्नु पर्नेमा नगर प्रमुख, उपप्रमुख र कार्यकारीले जोड दिनुभएको छ ।
विकासका सूचकहरुमा भौतिक विकास जति महत्वपूर्ण छ त्यत्तिकै सरसफाइ पनि भएकाले सरसफाईमा नमुना नबनेसम्म अन्य कुरामा अगाडी बढ्न नसक्ने उहाँहरुले बताउनु भएको हो । बाणगंगा नगरपालिका वडा नम्बर ११ ले मंगलबार वडा कार्यालयमा आयोजना गरेको सरसफाई, डस्विन तथा सूचना पाटी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले सरसफाइ बिना भौतिक विकासको अर्थ नहुने बताउनु भयो ।
उहाँले कुनै कार्यक्रम घोषणाको लागि मात्र नगरेर नतिजामुखी तरिकाले गर्नु पर्ने बताउनु भयो । आफूहरुले ‘म सफा गर्छु मेरो नगर’ अभियानलाई सुरुदेखि नै निरन्तरता दिदै आउँदा जनतामा सरसफाईमा राम्रो धारणा बनेको बताउनुभयो । अब त्यो अभियानलाई सरसफाई तथा हरियाली प्रवद्र्धनको रुपमा अगाडी बढाउने बताउनुभयो ।
नगर उप–प्रमुख चक्रपाणि अर्यालले पैसाले विकास नहुने बताउनुभयो । पैसाले विकास हुन्थ्यो भने आज काठमाण्डौँ किन धुलोमा डुब्नु परेको छ भन्दै उहाँले भन्नुभयो, ‘यसको लागि आनीबानी र सभ्यतामा रुपान्तरण आउनु पर्दछ ।’ सरसफाईको लागि जति नै बजेट विनियोजन गरे पनि आनीबानीमा परिवर्तन नआए त्यसले नतिजा नदिने उहाँको भनाई छ । उहाँले सबैलाई एकजुट भएर नगरले आयोजना गर्ने सरसफाइमा हाजिर हुन आग्रह गर्नुभयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले हरेक नगरको सफलता र असफलता सरसफाईबाट झल्कने बताउनु भयो । उहाँले भन्नुभयो– “नेपाल भरका हरेक स्थानीय तहको लागि फोहरमैलााको ब्यवस्थापन चुनौतिको रुपमा रहेको छ । बाणगंगा नगरमा पनि त्यो चुनौति छ । डम्पिङ साइट बनाउन नसकेर धेरै पालिका चुकेका छन् । हामी चुक्नु हुँदैन ।”
उहाँले ‘म सफा गर्छु मेरो नगर’ अभियानको निरन्तरता स्वरुप आफूले नगर सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रम अगाडी सारको बताउनुभयो । हरेक महिनाको १ र १५ गते नगरले सरसफाई कार्यक्रम गर्ने बताउँदै उहाँले सोही दिन अनिवार्य रुपमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभयो । धेरैले फोहर ब्यवस्थापनलाई चुनौतिको रुपमा लिन्छन् उहाँले भन्नुभयो– “तर नागरिक जागरुक हुने हो भने यो चुनौति हुँदैन् । यसको लागि हरेक घरले फोहरलाई बर्गिकरण गरी कुहिने जति एकातिर र नकुहिने जतिलाई अर्कातिर बर्गिकरण गर्नुपर्दछ ।”
वडाध्यक्ष सोमनाथ अर्यालले आफ्नो नगरलाई सुन्दर बनाउने दायित्व प्रत्येक वडाहरु रहेको भन्दै आफूले वडामा विशेष कार्यक्रम गर्ने बताउनु भयो । उहाँले यस्ता कार्यक्रम ११ वटा वडामा नै हुन सकेमा नगर नमुना बन्ने बताउनु भयो । कार्यक्रममा वडा नम्बर २ वडाध्यक्ष विष्णु पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष भिष्मराज भुसाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा १६ वटा टोल विकास संस्था, बिद्यालय र सम्वाद सेन्टरहरुलाई सुचना पाटी, फोहर फाल्ने डस्टबिन बितरण गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष नामदेव भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडामा क्रियाशिल नारी संवाद समुहले सरसफाई सम्बन्धि नाटक प्रस्तुत गरेको थियो भने बिभिन्न टोल समितिका अध्यक्ष, विद्यालयका प्रमुख ब्यक्तिहरु, मिडियाकर्मी तथा वडाबासीको सहभागिता थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६ मंगलबार ००:००  ७ : ३० बजे