२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज कपिलवस्तु आउँदै, नेकपाको चियापानमा सरिक हुने कार्यक्रम



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व प्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य झलनाथ खनाल आज (बुधबार) कपिलवस्तु आउनु हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा पार्टी प्रशिक्षण कार्यक्रमको लागि खनाल कपिलवस्तु आउन लाग्नु भएको हो ।
पार्टी कार्यालय तौलिहवामा विहान ११ बजे उहाँ आउनु हुने कार्यक्रम रहेको जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । खनालसंगै संगै कृषि मन्त्री चक्रपाणी खनाल बलदेव, पार्टीका उच्च ब्यक्ति तथा संघीय र प्रदेश सांसदहरुको पनि सहभागिता हुने पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले पार्टी तथा सरकारका समसामयिक गतिविधिका बारेमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । यस्तै बुधबार नै पार्टीको प्रशिक्षण कार्यक्रम पनि राखिएकाले नेता र कार्यकर्ताहरुलाई पार्टी सुदृढिकरण र संगठन विस्तारबारे प्रशिक्षण दिनु हुने नेकपा बाणगंगा नगरकमिटी सचिव टेकेन्द्र क्षेत्रीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
खनालको सहभागितालाई नेकपाका नेता कार्यकर्ता तथा जिल्लाबासीले निकै महत्वपूर्ण तवरले हेरेका छन् । खनालले बुधबार कपिलवस्तुमा सम्बोधन गर्दै के कुरा भन्नुहुन्छ भन्ने पनि आम चासोको विषयका रुपमा आएको छ । नेकपाले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि चियापान कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । बुधबारको कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहभागिताको लागि समेत पार्टीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  ५ : २६ बजे