१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सरकार पुनर्गठन गर्नुपर्छ : बरिष्ठ नेता खनाल



अजय बर्मा, तौलिहवा ।
सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकार पुर्नगठन गर्नुपर्ने बताउनु भएको छ । जनताको लोकप्रियताका लागि पनि सरकारको पुर्नगठन गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो । दशै, तिहार, छठ एवं नेपाल संवतको अवसरमा नेकपा कपिलबस्तुले सदरमुकाम तौलिहवामा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
संविधानले परिवर्तनको सबै बाटो खुला गरेको बताउदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको छ ।’ नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउँदै नेता खनालले समाजवाद प्राप्तिका लागि तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले स्थानीय र प्रदेश तहमा निर्वाचित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिनुभयो । वैचारिक एकतापछि दुई पार्टीबीच राजनीतिक र सांगठनिक एकता भएकाले त्यसलाई कसैले पनि तोड्न नसक्ने उहाँको दाबी थियो ।
यसैबीच संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले किसानहरुका लागि योगदान आधारित निबृत्तीभरणको ब्यबस्था लागु गरिने बताउनुभयो । आगामी मंसिर महिनादेखि ‘कृषिमा युवा कार्यक्रम’ को शुरुवात गरिने मन्त्री खनालले सोहि कार्यक्रम मार्फत जानकारी दिनुभयो ।
अहिले किसानलाई गुमराहमा राख्ने गरि गरिमा धानको बिउ उत्पादन गर्ने कम्पनीलाई सरकारले कारवाही गर्ने समेत बताउनुभयो ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य वृजेश कुमार गुप्ता लगायत विभिन्न पार्टीका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । पार्टी सचिव रामचन्द्र शाहको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला नेता डम्मर शर्माले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  ६ : २२ बजे