काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन् । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी आज बिहान अजरबैजानको राजधानी बाकु जान लागेका हुन् प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८ औं शिखर सम्मेलन भोलि बाकुमा शुरू हुँदैछ । ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो । यो समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन् ।
दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो ।
भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन्। भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकारलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया