२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सामुदायिक बनलाई समृद्धि तर्फ जोड्नुपर्छः नगर प्रमुख श्रेष्ठ



बाबुराम रायमाझी, गोरुसिंगे ।
कपिलवस्तुको बुद्धभूमि वडा नं. १ टिक्करमा अवस्थित जुरपानी सामुदायिक वनले ११ औं साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा समूहका सचिव सरिता खनालले समूहको बार्षिक प्रगती प्रतिवेदन बाचन गर्नु भएको थियो भने कोषाध्यक्ष राजु श्रेष्ठले आर्थिक वर्ष ०७५/७६को कुल ७ लाख १३ हजार बराबरको आय-व्यय सार्वजनकीकरण गर्नुभएको थियो । आगामी ०७६/०७७ को लागि २९ लाख ४१ हजार बराबरको प्रस्तावित वजेट पनि पेश गर्नुभएको थियो ।
सभामा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका गरी कुल ५१ जनालाई फलफूल र १÷१ बट्टा च्वावन प्रास जस्ता पोषक चीजहरु पनि वनले प्रदान गरेको थियो । त्यस्तै २०५० सालदेखि हालसम्म महिला स्वय्मसेविकामा रुपमा कार्य गर्दै आएका २ जना स्वयमसेविकालाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथीबाट दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बुद्धभूमि नगरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी केशव कुमार श्रेष्ठले सामुदायिक बनलाई समृद्धि तर्फ जोड्नुपर्ने बताउनुभयो । सामुदायिक बनमा संकलन भएको पूँजीलाई सहि सदुपयोग गर्न सुझाव दिनुभयो ।
जुरपानी सामुदायिक बन बडेहरा सब डिभिजन वन मातहतको पहिलो बैज्ञानिक वनको अवधारणा रुपमा पहिलो सामुदायिक वन भएको भन्दै नगर प्रमुख श्रेष्ठले यसको गरिमालाई सधै उचो पार्न आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठ यस बनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । यो वनले विपन्न, असहाय, खानेपानी, बिकास निर्माण कार्यमा सम्वोधन गरेको चर्चा गर्दै जल, जमिन, जंगल, जनावर, जडीबुटीको संरक्षण गर्दै वनको संरक्षण, सम्वद्र्धन गर्दै वनको दिगो बिकास गर्नु पर्ने कुरा बताउनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले वैज्ञानिक वनबाट हुने फाइदा त्यसबाट हुने प्रभावका वारेमा जानकारी गराउँदै सामुदायिक वनले सामाजिक क्षेत्रमा कार्य गर्दा नगर, वडासंग समन्वय गरी कार्य गरेमा काम प्रभावकारी हुने कुरा वताउनुभयो ।


कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तिलक वस्नेतले सामुदायिक वनको सुरुवातसंगै वनको अतिक्रमण रोकिएको सामुदायिक वनले कार्य गर्दा दीर्घकालिन सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बुद्धभूमि नगरका वन महासंघका अध्यक्ष बलाराम भुसाल, सिद्धार्थ स्मारक मावि भेलाईका प्राचार्य डिलाराम पौडेल, हरीओम सामुदायिक वनका अध्यक्ष रविलाल घिमिरे, बुद्धिजिवी गोकर्ण कुँवर लगायतले साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।


साधारण सभामा सबैमा समूका अध्यक्ष पिङ्गल थारुले धन्यवाद दिनुभएको थियो ।

यस वनमा १ सय ८ घरधुरी रहेको र ७७ दशमलव १ सय ६६ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६ आइतबार ००:००  १० : ५५ बजे