१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

अन्तर्राष्ट्रिय ब्रिटेनमा डिसेम्बर १२ मा आमनिर्वाचन हुने, ब्रेक्जिट सम्झौताबारे नयाँ जनादेशको खोजी



एजेन्सी । ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।

योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ। ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमचुनाव हुनेछ।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसद उभिएका थिए। अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्‍यो भने त्यो कानुन बन्ने बीबीसीले जनाएको छ।

यदि त्यस्तो भयो भने चुनावी प्रचारप्रसारका लागि पाँच हप्ताको समय हुनेछ। प्रधानमन्त्री जोनसनले मुलुक र ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर जनतालाई दिइनुपर्ने बताएका छन्।

आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास छ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  ८ : २७ बजे