२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

‘भीआईपी जुवाडे’विरुद्ध अनुसन्धान गर्न ७ दिनको म्याद थप



काठमाडौं ।
गत आइतबार काठमाडौंको महाराजगञ्जबाट जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद थप गरेको छ । गत आइतबार पक्राउ परेका २५ जनाविरुद्ध नै ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।
आइतबार पक्राउ परेका उनीहरु यसअघि नै ५ दिन हिरासतमा रहिसकेका छन् । प्रहरीले अब थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ । जुवाखालबाट पक्राउ परेकामध्ये १४ जनाले भने सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि सर्वोच्चमा बिहीबार पनि सुनुवाई जारी छ । प्रहरीले गत आइतबार काठमाडौं महानगरपालिका–३ महारजगञ्ज पिपलमार्गबाट जुवा खेल्दाखेल्दै २५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबर बैंकको चेक बरामद भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ३ : ०८ बजे