५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धभूमिलाई असफल बनाउने खेल भयो : नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पछिल्ला घटनाको विश्लेषण गर्दै बुद्धभूमिलाई असफल बनाउने खेल भएको बताउनुभएको छ । आइतबार विहान नगरपालिकामा जिल्लाका कृयाशिल पत्रकारलाई बोलाएर नगर प्रमुख श्रेष्ठले पछिल्ला घटनाको बारेमा जानकारी गराउनुभएको हो । दुई बर्षे कार्यकाल सकेर रुकुमको मुसीकोट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या पुनः थमौती लिएर नगरपालिका आए पछि विवाद बढ्दै गएको उहाँले बताउनुभयो । समय पुगेपछि कर्मचारी सरुवा हुनु स्वभाविक प्रक्रिया रहे पनि प्रमुख प्रशासकीय अधिकृत पाध्याले अनावश्यक किचलो झिक्ने काम गरेको बताउनुभयो । ‘दुई बर्षे कार्यकाल सकाएर सरुवा भई गएका व्यक्ति फेरी थमौती मागेर नगरपालिकामा आउनु नै समस्याको मुख्य जड हो उहाँले भन्नुभयो, “पटक पटक बुद्धभूमिमै पाध्या आउनुपर्ने कारण के छ उहाँले प्रश्न गर्नुभयो ।” बुद्धभूमि नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि पाध्या प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिए । पछि उनको कैलाली सरुवा भयो । पछि पुनः थमौती लिएर बुद्धभूमिमै आए । यहाँ दुई बर्ष विताए । अहिले मन्त्रालयले सरुवा गरेर रुकुम पश्चिम पठाएको छ । उनी त्यहाँ जान मानेनन् । राजनीति दबाबबाट थमौती लिएर फेरी बुद्धभूमि आएका छन्, नगर प्रमुख श्रेष्ठले पत्रकार भेटघाटमा भन्नुभयो, “यसरी पटक पटक हामी माथि खेल्ने काम भयो, जुन नगरपालिकालाई असफल बनाउने खेल हो ।” पाध्याको सरुवा भएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा शेषकान्त पौडेल आएपनि उनको एक साता नवित्दै अन्यत्रै सरुवा भएको पनि उहाँले सुनाउनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पठाएको व्यक्तिलाई एक हप्तामै थमौती दिएर कर्मचारी र जनप्रतिनिधिबीच द्धन्द्ध बढाउने काम गरेको भन्दै उहाँले गुनासो गर्नुभयो । सरुवा भई गएको व्यक्ति पुनः फर्किएर आएपछि पाध्यासंग जनप्रतिनिधिको दुरी बढेको प्रष्ट हो उहाँले भन्नुभयो, “हामीले पाध्यालाई फूलमालाले विदाई गर्ने भनेका थियौं दुर्भाग्य त्यस्तो हुन पाएन् ।” अरु स्थानीय तहमा दुई बर्ष भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत नभएको उदाहरण दिदै पाध्यालाई पटक पटक यही बस्नु पर्ने कारण के छ उहाँले प्रश्न गर्नुभयो ।
पाध्या नगरमा रहुन्जेल जनताको काम गर्न गाह्रो भएको पनि उहाँले सुनाउनुभयो । पाध्याले जनप्रतिनिधिसंग सल्लाह नगरि आर्थिक कारोबार गर्दै आएको, पटक पटक नगर कार्यपालिकामा पाध्याका बारेमा कुरा उठे पनि कार्यान्वयन नभएको, कार्यालयमा उपस्थिती न्यून भएको, हाजिर कहिल्यै नगर्ने, कर्मचारीको विदा, समय पालनाको बारेमा मतलव नगर्ने , कर्मचारी र जनप्रतिनिधिलाई एक आपसमा बझाउने काम गरेको पनि उहाँले सुनाउनुभयो ।
पाध्याको सरुवा पछि उत्पन्न विवादको फाइदा उठाएर आफु र नगरपालिकाको चरित्रहत्या गर्न केही व्यक्ति लागेको पनि उहाँले सुनाउनुभयो । कतिपय सञ्चार माध्यम तल्लो स्तरमा गएर आफ्नो चरित्रहत्यामा लागेको भन्दै पत्रकारिताको मर्म र धर्म विपरित नजान आग्रह गर्नुभयो । “कतिपय मिडियाले म प्रति ठूलै राजनीति गरेका पनि छन्, म ती मिडियाका साथीहरुलाई प्रश्न गर्छु, दलको नेतृत्व गर्ने काम पत्रकारको हो र ? पत्रकारिता सत्य र तथ्यमा आधारित हुनुपर्छ, जनताको मर्म र धर्मलाई सम्बोधन गर्ने खालको हुनुपर्छ ।” आफु सत्यमा उभिने भएकोले कसैले जथाभावी लेख्दैमा चिन्ता नलाग्ने बताउनुभयो । जनताले सबै कुरा बुझेको उहाँको भनाई छ ।
काम गर्ने क्रममा कमिकमजोरी हुन सक्ने भन्दै यसमा खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभयो । सल्लाह, सुझाव सहितको पत्रकारिताको सधै सम्मान हुन्छ, काम गर्दा कुनै बेला तलमाथि पनि हुन सक्छ तर, अनावश्यक लेखेर चरित्रहत्या गर्ने काम पत्रकारिताको मर्ममा पर्दैन उहाँले पत्रकार समक्ष भन्नुभयो । जनताले ५ बर्षका लागि काम गर्न पठाएको भन्दै विपक्षीलाई हतार नगर्न आग्रह गर्नुभयो । “कतिपय मिडियाले चुनावी विश्लेषण गर्दै समाचार छापेछन्, यति र उती मतले जिते भनेर, यो विषय अहिले जरुरी हो र ? उहाँले प्रश्न गर्नुभयो, यति सारो हतार साथीहरुलाई किन भएको छ कुन्नि ।”

सामाजिक सुरक्षाभत्ताबारे बोल्दै उहाँले पाध्याकै कारण रोकिन पुगेको बताउनुभयो । जनप्रतिनिधिले चेकमा हस्ताक्षर नगर्ने भन्दै बृद्धभत्ता दशै अगावै दिनुपर्छ भनेर आफुले पहल परेको बताउनुभयो । बृद्धभत्ताका लागि टिप्पणी उठिसके पनि पाध्याकै कारण रोकिन पुगेको बताउनुभयो । दशैंको तलवभत्ता निकाल्न सक्ने पाध्याले बृद्धभत्ता किन दिन सक्दैनन् उहाँले भन्नुभयो, “नगरपालिकालाई असफल पार्ने उद्धेश्य यो भन्दा अर्को के हुन सक्छ ।” भत्ता पाध्याले चाहे जति बेला पनि दिन सकिने बताउनुभयो । भत्ता पाउनमा सहज होस भनेर आफुले बैंकसंग पहल गरेको पनि उहाँले बताउनुभयो ।

समस्या बल्झाउन होइन्, सुझाउन ताला लागेको हो

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका कक्षमा लागेको ताला समस्या बल्झाउन नभई सुझाउन भएको उहाँले प्रष्ट पार्नुभयो । सरुवा भई गएका पाध्या पुनः थमौती गरेर आएपछि जनप्रतिनिधि र कर्मचारी बीचको दुरी बढाउन हुँदैन् भनेर विभिन्न पहल गरिए पनि प्रयास विफल भए पछि ताला लागेको उहाँले बताउनुभयो ।
असोज १३ गते बसेको नगर कार्यपालिकाको बैठकले पाध्याको पुनः थमौती पछि जनप्रतिनिधि र कर्मचारीबीच दुरी बढ्ने हुँदा पाध्यालाई जहाँ त्यही पठाउन मन्त्रालयलाई भनेको बताउनुभयो । कार्तिक दोस्रो हप्तासम्मको अल्टिमेटम दिएर उनको कार्यकक्षमा ताला लगाइएको प्रष्ट पार्नुभयो । दुई बर्ष नगरपालिकामा रहदा सम्बन्ध खासै सुमधुर नभए पछि पाध्या सजिलो ठाउँमा काम गर्न जानु पर्ने हो नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “मन्त्रालयमा सचिवसंग काममा तालमेल मिलेन भने सचिव फेर्ने अधिकार मन्त्रीको हुन्छ ।” काममा जुन कर्मचारीबाट सहज हुन्छ त्यसबाट काम गराउनु सामान्य प्रक्रिया हो यसमा राजनीति गन्धको आवश्यकता हुँदैन्, उहाँले भन्नुभयो । जनप्रतिनिधि काम गर्न आएकोले छिटो छरिटो काम हुनुपर्छ भन्ने मान्यता जसको पनि हुन्छ । नागरिकको काम चाडो हुनुपर्छ भन्ने धारणा जसको पनि हुन्छ । कर्मचारी सरुवालाई भष्ट्रचार गर्न नपाएर हो भन्ने जस्ता गलत अभिव्यक्ति दिएर गिराउने काम कसैबाट गर्न नहुने उहाँले बताउनुभयो । नगरपालिकाको बजेट मेयर, उपमयेरले गोजिबाट नल्याउने भन्दै उहाँले नगरसभाबाट बजेट पास हुने र रातो किताबमा आउने हुँदा भष्ट्रचार, अनियमितताका कुरै नआउने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’, वडा नं. ४ का वडाध्यक्ष पवनकुमार थारु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, महासंघका प्रदेश सस्दय मनोज कुमार श्रीवास्तव, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, पूर्व जिल्ला उपाध्यक्ष किरणमान ब्रजाचार्य लगायत दर्जन बढी पत्रकारको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : ०९ बजे