४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दुर्घटनामा परी डाक्टर बुवा र नर्स छोरीको मृत्यु



विराटनगर ।
कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका १ स्थित शान्ति चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर डाक्टर र नर्स रहेका एउटै परिवारका बाबु छोरीको मृत्यु भएको छ ।
सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको हो ।
शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार उनीहरु को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए । मोटरसाइकल बुवा शुवालालले चलाएका थिए ।

विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्‍कर दिँदा दुर्घटना भएको जानकारी खिँउजुले दिए । उनकाअनुसार बस खनारमा रहेको कल फेसन्स सोलुसन नामक कपडा उद्योगका कामदार लिएर गएको हो । दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका क्रममा विराट टिचिङ अस्पतालमा पुर्‍याउँदा चिकित्सकले बिहान ८ बजे मृत घोषणा गरेको खिँउजुको भनाइ छ।
लेन अनुशासन मिचेर तीव्र गतिमा अघि बढिरहेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्‍कर दिँदा दुर्घटना भएको ट्राफिक प्रहरीका सहायक निरीक्षक तुलामणि आचार्यले बताए । ट्राफिक नियमको उल्लंघन गर्दै लेन अनुशासन मिचेर तीव्र गतिमा अघि बढेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्‍कर दिएको हो, उनले भने, उद्योगका कामदार बोकेको बसले नियमको पालना गरेको पाइएन ।बस र चालक सिरहाको धनगढी नगरपालिका १२ का ३४ वर्षीय सञ्जिव खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १ : १६ बजे