४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बाणगंगा नगरपालिकामा अब ‘डिजिटल सूचना पाटी’, एक क्लिकमा सबै जानकारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकाले डिजिटल सूचनापाटीको सुरुवात गरेको छ । विज्ञान र प्रविधिको युगमा नगरबासीलाई सरल र सहज ढंगबाट सूचनाहरुको बारेमा जानकारी दिने उदेश्यले डिजिटल सूचनापाटीको प्रयोग सुरुवात गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका नयाँ भवनमा सरे लगत्तै डिजिटल सूचनापाटीको प्रयोग गरिएको नगर प्रमुख मंगल प्रसाद थारुले मायादेवी अनलाइनसंग बताउनु भयो ।

सूचना पाटीमा नागरिक वडा पत्रदेखि नगरले गरेका गतिविधिका भिडियोसम्म एउटा बटम थिचेपछि सहज रुपमा प्राप्त गर्न सकिने छ । डिजिटल सूचना पाटीमा सुरुमा बाणगंगा नगरपालिकाको कार्यालय कपिलवस्तुमा यहाँहरुलाई हार्दिक स्वागत छ लेखिएको देखिने छ । त्यसपछि आवश्यक निर्देशन अनुसार नागरिक वडा पत्र, नगरका महत्वपूर्ण सूचनाहरु, जनप्रतिनिधिहरुको विवरण गतिविधि, कर्मचारी विवरण, व्यवसाय इजाजत दर्ता निवेदन, व्यवसाय इजाजत दर्ता बार्षिक कर र नगरले गरेका गतिविधिको भिडियोहरुको बारेमा जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

डिजिटल पाटीको अगाडी पट्टी एउटा ठुलो कि प्याड राखिएको छ । कि प्याडमा ‘इन्ट्रि कि’ थिचेपछि बाँयाँ छेउमा दिइएको निर्देशन अनुसार आफूले चाहेको जानकारी लिन सकिने सापकोटाले जानकारी दिनुभयो । यो सूचना पाटीको प्रयोगपछि नगरबासीले धेरै कुरामा सहजता पाउने विश्वास लिइएको नगर उपप्रमुख चक्र अर्यालको विश्वास छ ।

डिजिटल पाटी प्रयोग गर्न नजान्नेहरुलाई नगरपालिकाका सम्बन्धित शाखाका अधिकारीहरुले आवश्यक ज्ञान दिने पनि अर्यालले बताउनु भयो । यस अघि नै डिजिटल सूचना पाटीको प्रयोग सुरु गरिने बताइए पनि विविध कारणवस काम हुन सकेको थिएन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ४ : ३० बजे