४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुरुङभित्र फसेका चारैजना मृत भेटिए, पोष्टमार्टमपछि कारण खुल्ने



काठमाडौं ।
बझाङको बुंगलमा निर्माणाधीन कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका चारैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । आइतबार सुरुङभित्र गएका ६ जनामध्ये चारजना सुरुङभित्रै फसेका थिए भने दुईजना बाहिर निस्कन सफल भएका थिए ।
फसेकामध्ये सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव सोमबार निकालिएको थियो भने बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार आज निकालिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले सुरुङभित्रै पसेर शव निकालेको हो ।
सोमबार सुरुङबाट बोलेरो जीप सहित तीनजनाको शव बाहिर निकालिएको भए पनि धामीको अवस्था अज्ञात थियो । १५ सय मिटर लामो सुरुङभित्र पसेका मजदुरको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने सुदूरपश्चिम प्रदेशका डीआइजी तारणी लम्सालले बताए । सुरुङभित्र अक्सीजनको अभावका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  १ : ४१ बजे