१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बालश्रम रहित ईटा उद्योगको प्रवर्धनमा प्रचार प्रसार आवश्यक


२३ मंसिर २०७६ सोमबार ००:००  

2
Shares

रुपन्देही ।
ईटा उद्योगहरुलाई बालश्रम रहित ईटा उद्योगको रुपमा विकास गर्नुपर्ने अहिलेको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । बेटर ब्रिक नेपाल परियोजनाले रुपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिक मैत्री ईटा उद्योग प्रवर्धनमा सचेतना अभिवृद्धि गरेर दिगो विकासमा जोड दिनुपर्ने आवश्यकता भएको बताइएको छ ।
ग्लोबल फेयरनेश इनिसिएटिभको सहयोग, नेपाल गुडविभ फाउण्डेशन र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, उद्योगी व्यवसायीको संयुक्त साझेदारीमा संचालित परियोजना अन्तरगत ईटा उद्योगलाई बालश्रम रहित उद्योग बनाउन सफल भएको बताइएको छ । प्रदेश नं.५ को कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला कार्यक्षेत्र रहेको परियोजनाले १८ वटा इटा उद्योगमा काम गर्दछ । ती इटा उद्योगमा परियोजनाले कामदारको हक अधिकार सुनिश्चित गर्न स्थानीय सरकार तथा उद्योग व्यवसायीसंग समन्वय गरेर बालश्रम रहित ईटा उद्योगको रुपमा रुपान्तरण गर्ने अभियान संचालन गरेको हो । जस अन्तरगत ३ जिल्लाका १३ ईटा उद्योग बालमैत्री तथा ५ ईटा उद्योग श्रमिकमैत्री ईटा उद्योगको मापदण्ड पुरा गरेको बताइएको छ ।
कार्यक्रममा जिएफआईका राष्टिय निर्देशक सुरेश पण्डितले श्रमिकमैत्री ईटा उद्योगको प्रवर्धनका लागि पत्रकारहरुले उपभोक्तालाई सचेत गराउनुपर्ने बताए । उनले नेपालको निर्माण क्षेत्रमा महत्वपूर्ण हिस्सा ओगटेको इटा उद्योगहरुको उत्पादन, बालश्रम मुक्त तथा श्रमिक मैत्री ईटा उद्योगको बजारीकरणमा आम उपभोक्ता चनाखो हुनुपर्ने समय आएको बताए । श्रममैत्री सामाग्रीहरु उत्पादन गर्ने इटा उद्योगलाई प्रोत्साहन गर्दै तीनै तहका सकारले प्रवर्धन गर्दै बजारीकरण र प्रचार प्रसारको सवैको सहयोग आवश्यक भएको पण्डितले बताए । कार्यक्रम संयोजक दुर्गा अर्यालले परियोजनाको उपलब्धी बताउदै उपभोक्ता चनाखो र उद्योगी व्यवसायीको उत्तरदायित्वले मात्र समृद्ध समाज र दिगो विकास हुने बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७६ सोमबार ००:००  ६ : १५ बजे