१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालबालिकाको शिक्षामा खेलवाड गर्न हुन्नः निसार अहमद खाँ



मायादेवी अनलाइन, लबनी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले शिक्षाको माध्यमबाट बालबालिकाको भविष्य समुन्नत बनाउनुपर्नेमा जोड दिनुभएको छ । शुद्धोधन गाउँपालिका एक सामुदायिक विद्यालयको अनुगमनको क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले बालबालिकाको शैक्षिक स्तर बृद्धि गर्न आफु निरन्तर सामुदायिक विद्यालयको सुधारमा लागिरहेको बताउनुभयो । शुद्धोधन गाउँपालिका-५ स्थित सतकुमारी शेरचन निमाविको संयुक्त अनुगमनका क्रममा उहाँले शिक्षक अभिभावकसंग कुरा गर्दै बालबालिकाको शिक्षा र भविष्यमा खेलवाड गर्न नहुने बताउनुभयो । उहाँले बालबालिकाको शिक्षामा गाउँपालिकाले विशेष प्राथमिकता गरेको समेत बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको साझेदारीमा संचालित हौसला कार्यक्रमको विहीबार अनुगमन गर्दै अध्यक्ष खाँले स्कुल नगएका बालबालिकालाई विद्यालयमा ल्याउन तथा विद्यालयको शैक्षिक विकासमा संस्थाले पु¥याएको सहयोग प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ । उहाँले विद्यालयमा कार्यरत कार्यालय सहयोगीले आफनो पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्ने पटक पटक गुनासो सुनेको र विद्यालयमा अनुगमनमा समेत उक्त कुरा पाइएको हुँदा सुध्रिन सुझाव दिनुभएको छ । उहाँले काम नगर्ने शिक्षक कर्मचारीलाई पहिलो पटक सजग बनाउने र सुधार नआए गाउँपालिकाले आवश्यक कदम चाल्ने समेत बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगाएतका कर्मचारी, संस्थाका प्रतिनिधी तथा पत्रकार सहितको अनुगमन टोलीलाई विद्यार्थीले विभिन्न गुनासा र विद्यालयको समस्या सुनाएका थिए । विद्यार्थीले विद्यालयको शौचालय फोहोर, खानेपानीको प्रबन्ध, सरसफाई, शिक्षकको अभाव लगाएतका समस्या रहेको बताएका थिए ।
हौसला कार्यक्रमका संयोजक दिनेशचन्द्र त्रिपाठीले कार्यक्रमले शौचालय मर्मत सम्भार, खेलकुद सामग्री, विद्यालय सुधार योजना कार्यका लागि सहयोग गरेको बताउनुभयो । संस्थाले स्कुल वाहिर रहेका बालबालिकालाई विद्यालयमा पुन निरन्तरताका लागि काम गरेको बताइएको छ । त्यसै अनुगमन टोलीलले लबनी स्थित मोतिभारी मा.वि.को पनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ८ : ५७ बजे