४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सोमबारदेखि छैठौं चन्द्रौटा महोत्सव, विगतको भन्दा फरक हुने दाबी



मायादेवी अनलाइन, चन्द्रौटा ।
०७१ सालदेखि चन्द्रौटामा लाग्न थालेको चन्द्रोटा महोत्सवको छैठौं संस्करण सोमबार (भोलि) देखि सञ्चालन हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले ०७१ सालमा प्रथम चन्द्रौटा महोत्सव आयोजना गरेको थियो । त्यस यता हरेक बर्ष चन्द्रौटामा महोत्सव लाग्दै आएको छ ।
व्यापार संघ कपिलवस्तु र चन्द्रौटा उद्योग वाणिज्य संघले पालैपालो आयोजना गर्दै आएको चन्द्रौटा महोत्सवको यस पटक चन्द्रौटा उद्योग वाणिज्य संघले आयोजना गरेको छ ।
महोत्सवको पूर्व सन्ध्या आइतवार दिउँसो महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सबै तयारी पूरा भएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक जमसेर अलि मियाँले बताए ।
पुस १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको महोत्सवमा आई अवलोकन गर्न कपिलस्तुबासी र छिमेकी जिल्लाका सर्वसाधारणलाई संयोजक मियाँले आग्रह गरे । महोत्सवमा कृषि, घरेलु उद्योगबाट उत्पादित बस्तु सम्बन्धि स्टलहरु राखिएको भन्दै यसले व्यापार व्यवासायमा राम्रो प्रतिफल दिने आशा व्यस्त गरे ।
चन्द्रौटा क्षेत्रको धार्मिक, जातिय सद्भावलाई महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने पनि उनले चर्चा गरे । शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रुपमा स्थापित गर्नुपर्ने बताउदै यहाँका पर्यटकीय स्थलको प्रचार प्रसारमा पनि महोत्सवको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
महोत्सवमा महानायक राजेश हमालसंगै चर्चित राष्ट्रिय कलाकारको प्रस्तुती रहने उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले बताए । साथै महोत्सव उद्घाटन समारोहमा विभिन्न जातजातीका संस्कृती पनि देखाइने पाण्डेले जनाए ।
विगतमा सञ्चालन हुँदै आएको महोत्सव भन्दा यस बर्ष अलि फरक हुने उद्योग वाणिज्य संघका महासचिव दमन भाट क्षेत्रीले दाबी गरे ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले महोत्सवले जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन हुनेमा आशाबादी रहेको जनाए । महोत्सवले स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीलाई प्राथमिकता दिनुपर्ने भुसालले औल्याए ।
‘कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान’ भन्ने नारा दिइएको महोत्सवको उद्घाटन नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने छन ।
महोत्सवमा यस बर्ष पनि डान्स आइडल सञ्चालन गरिएको छ । छैठौं चन्द्रौटा डान्स आइडलमा दर्जनौं प्रतियोगी छनौट भएका छन । डान्स आइडलको विजेताले रु. ५० हजार १ सय ११ र उपविजेताले रु. ३० हजार १ सय ११ प्राप्त गर्नेछन् । साथै सन्त्वना पुरस्कारका रुपमा दुई जना प्रतियोगीलाई रु. १०÷१० हजारका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६ आइतबार ००:००  १० : २७ बजे