६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटी विजयी



एजेन्सी ।
साबिक विजेता म्यानचेस्टर सिटीले दोस्रो स्थानको लेस्टर सिटीसँगको अंक दूरी पुनः एक बनाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले दोस्रो हाफमा दुई गोल गरेको हो ।

उसका लाग सर्जियो अग्युरो र केविन डी ब्राउनले गोल गरे । ५२ औँ मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । ८२ औँ मिनेटमा डी ब्राउनले गोल गरेपछि सिटीले २–० को जित निश्चित गरेको हो ।

जितपछि तेस्रो स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ४१ अंक भएको छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट ४२ अंक छ । म्यानचेस्टर सिटीसँग पराजित भएको शेफिल्ड युनाइटेड २० खेलबाट २९ अंकसहित आठौँ स्थानमा छ ।

यता लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा वुल्भ्समाथि जित निकाल्ने क्रममा साडिओ मानेले ४२ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

एडम लालनाको पाखुरामा लागेर आएको बललाई मानेले गोलमा परिणत गरेका हुन् । ह्याण्डबल थियो या थिएन भन्ने तय गर्नका लागि लामो भिएआर समीक्षा गरिएको थियो । अन्ततः रेफ्रीले मानेको गोललाई मान्यता दिए र सोही गोल नै लिभरपुलको जितका लागि निर्णायक बन्यो ।

जितपछि शीर्ष स्थानको लिभरपुलको १९ खेलबाट ५५ अंक भएको छ र उ दोस्रो स्थानको लेस्टर सिटी भन्दा १३ अंकले अघि रहेको छ ।

गएको सिजनको विजेता म्यानचेस्टर सिटी साबिक उपविजेता भन्दा १४ अंकले पछि छ । लिभरपुलसँग पराजित भएको वुल्भ्स २० खेलबाट ३० अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ८ : ४३ बजे