२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भोलिदेखि चिसो झन् बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना



मायादेवी अनलाइन, कपिलवस्तु ।

भोलीदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू(कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीका कारण मंगलबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधाबार बेलुकीसम्म अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमासमेत भारी हिमपात हुने उहाँले बताउनुभयो । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रम घट्ने र देशैभरी चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।यस्तै, यही प्रणालीका कारण आउँदो बिहीवार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ६ : ५२ बजे