१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा बदनामी कमाएको महालक्ष्मी सुगर्स मिलको सर्लाही पुगेर पनि उस्तै हाल !



मायादेवी अनलाइन, वाणगंगा ।
०७४ सालको उखु क्रसिङ गर्ने बेला महालक्ष्मी सुगर्स मिल कपिलवस्तुबाट विस्थापित भएको थियो । जिल्लामै सुगर्स मिल भएपछि यहाँका किसानले ०७४ सालमा हजारौं हेक्टरमा उखु लगाएका थिए । उखु काटेर सुगर्स मिलमा लैजाने बेला महालक्ष्मी सुगर्स मिल जिल्लाबाट एकाएक सर्लाही गयो । किसान पुर्पुरोमा हात लगाएर बस्न बाध्य भए । पछि सस्तो मूल्यमा नै सख्खर उद्योगलाई किसान उखु बेच्न बाध्य भए ।
बर्षौ देखि सुगर्स मिलले उखुको भुक्तानी नदिएको भन्दै आन्दोलन चर्काउँदै आएका उखु किसानले ०७४ सालमा भने फरक खालको माग राखेर आन्दोलन गरेका थिए । त्यतिबेला किसानको माग थियो सुगर्स मिल जिल्लाभन्दा अन्यत्र सार्न दिन हुँदैन । लाखौं रकमको माया भन्दा पनि सुगर्स मिल अन्यत्र जानु हुँदैन भन्ने उखु किसानको माग थियो । उखु काट्नै लाग्दा सुगर्स मिलले गरेको खेलवाडले ०७४ सालमा सयौं किसान मार खेप्न बाध्य भएका थिए ।
बर्षौ देखि सुगर्स मिलले भुक्तानी नदिए पछि आन्दोलन गर्दै आएका उखु किसानलाई रिस पोख्न कै लागि उखु काट्ने बेला महालक्ष्मी सुगर्स मिललाई सर्लाही लगेको किसानको शंका छ । सुगर्स मिल व्यवस्थापन पक्षले भने उखु प्रयाप्त नहुँदा मिल बर्षेनी घाटामा गएको कारण देखाउँदै जिल्लाबाट सारेको थियो ।
बर्षौ देखि कपिलवस्तुका उखु किसानको भुक्तानी नदिएको महालक्ष्मी सुगर्स मिल फेरी यो बर्ष पनि चर्चामा आएको छ । कृष्णनगर निवासी विरेन्द्र कनोडियाको यो सुर्गस मिलले करोडौं उखु किसानको भुक्तानी नदिएको तथ्य बाहिर आएको छ । कनोडिया पूर्व मन्त्री समेत हुनुहुन्छ भने हाल प्रदेश सांसद पदमा आसिन हुनुहुन्छ । प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाउनुभएको छ । उहाको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तानी गरेको छैन ।
गृहमन्त्रालयले पक्राउ गर्न पत्र काटेपछि महालक्ष्मी सुगर्स मिलका सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडिया उद्योग मन्त्रालयमा उपस्थित हुनुभएको छ । उहाँ सञ्चालक रहेको महालक्ष्मी सुगर्स मिलले उखु किसानलाई २१ करोड रुपैयाँ नतिरेपछि कृषि र उद्योगमन्त्रालयको पत्रानुसार आज गृहमन्त्रालयले पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको थियो । गृहले पत्र काटेको थाहा पाएलगत्तै उहाँ किसानको सबै रकम तिर्न तयार भएको भन्दै उद्योग मन्त्रालयमा पुग्नुभएको थियो । उद्योगमन्त्री लेखराज भट्टले किसानको २१ करोड रुपैयाँ एकसातामा तिर्ने कबुल कनोडियाले गर्नुभएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६ मंगलबार ००:००  ६ : २४ बजे