१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

नक्कली सुनको कारोबार गर्ने दुई भारतीय पक्राउ



कैलाली ।
नक्कली सुनको कारोबार गर्ने दुई जना भारतीयलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मुक्तियार सिंह र सोही ठाउँका ३२ वर्षीय मञ्जित सिंह छन्।
शंकर बोहराले सञ्चालन गर्दै आएको धनगढी उपमहानगरपालिका (४ स्थित बसपार्कको नेसनल गेस्ट हाउसबाट उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट दुई किलो चार सय ग्राम धातु बरामद भएको छ। सुनजस्तो देखिने उक्त वस्तु गेस्ट हाउसको ७ नम्बर कोठाभित्र राखिएको थियो।
उक्त धातु परीक्षण गर्दा सुन नभएको पुष्टि भएको प्रवक्ता प्रकाश कार्कीले बताए। सुनको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोली होटलमा पुगेको थियो। कोठामा छापा मार्दा तीन वटा विस्कुट आकारमा धातु फेला परेको थियो।
अनुसन्धानका लागि प्रहरीले गेस्ट हाउस सञ्चालक बोहरालाई पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  १२ : ४९ बजे