११ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025

हराएको एक महिनासम्म पनि बाणगंगाका युवक अझै भेटिएनन्, खोजीमा सघाउन परिवारको विन्ति



मायादेवी अनलाइन, कपिलवस्तु ।
गत पुष ३ गतेदेखि काठमाण्डौँबाट हराएका बाणगंगा ३ झुँगाका पोषराज भट्टराई अझै फेला परेका छैनन् । पुष ३ गते दिउसो साढे ३ बजे अमृता फाउण्डेसन नेपाल साँखुको गेटबाट हराएका उनी २५ दिनसम्म पनि फेला नपर्दा परिवारजन निकै चिन्तामा परेका छन् । भट्टराई बुबा गिरिराज भट्टराईले जति खोजतलास गर्दा पनि फेला नपरेपछि आफू र परिवार निकै चिन्तित बनेको मायादेवी अनलाइनको कार्यालयमा आएर दुखेसो पोेख्नुभयो ।अहिलेसम्म काठमाण्डौँ, भक्तपुर, ललितपुर, मुग्लिन, नारायणघाट, बनेपा, धुलिखेल, नगरकोट लगायतका स्थानमा खोजतलास गर्दा पनि आफ्नो जेठो छोरो नभेटिएकाले खोजीमा सघाउन उहाँले पुलिस प्रशासन, मानवअधिकारकर्मी र संचारकर्मी, आफन्त सबैलाई अनुरोध गर्नुभएको छ । 

उहाँले छोरो ३३ बर्षका रहेको र हल्का मानसिक सन्तुलन गुमेको जस्तो देखिने बताउनु भयो । उहाँका अनुसार कालो वर्णको पोषराजको ५ फुट ३ इन्च जति उचाई रहेको छ भने उनले खैरो जकेट, कालो पाइन्ट, उनीको टोपी, फितावाला चप्पल लगाएका छन् । यस्तै उनको कपालमा टाटा र आँखामा कोठी रहेको छ । आमा पर्मिला भट्टराईले पनि छोरोलाई खोजी गरिदिन विन्ति गर्नुभएको छ । निकै दुखका साथ उहाँले भन्नुभयो, “मेरो मुटुको टुक्रा बाबु तिमी कहाँ छौ ? कहिले घर आउँछौँ ? बाबु छिटै आउन, हामी कुरेर बसेका छौँ ।” उहाँले छोरो हराएदेखि राम्ररी खाना पनि खान नसकेको भन्दै खोजीमा सघाउन विन्ति गर्नुभएको छ । आफूहरुको आर्थिक अवस्था निम्न भएकाले खोजतलासमा समस्या भएको बताउँदै उहाँले जतिसक्दो सघाउन आग्रह गर्नुभयो । यस्तै बाणगंगा नगरपालिकाले पनि उनको खोजीमा सघाउन सबैलाई अनुरोध गरेको छ । उनका मातापिता निकै चिन्तित भएकाले नगरपालिकाले बनाइदिएको सिफारिस पत्र अनुसार खोजीमा सघाउन मेयर मंगल प्रसाद थारुले अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ६ : ५२ बजे