२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

हिउँदे नगरसभा गर्ने बुद्धभूमि कपिलवस्तुको पहिलो स्थानीय तह



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आइतबार छैठौं नगर सभा गरेको छ । गोरुसिंगेमा सम्पन्न भएको नगर सभामा बुद्धभूमि नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ । स्थानीय सरकार बने पश्चात शिक्षा ऐन बनाउनका लागि नगरपालिकाले दर्जनौं छलफल चलाउँदै आएको थियो । यद्यपि आइतबार हिउँदे नगर सभाले शिक्षा ऐन पारित गरेको हो ।
संविधानले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही कानुनी अधिकारलाई टेकेर नगरपालिकाले शिक्षा ऐन बनाएको हो । केन्द्रिय शिक्षा ऐन र नेपालको संविधानसंग नबाझिने गरी नयाँ शिक्षा ऐन बनाएर पारित गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर सभाको अध्यक्षता ग्रहण गर्नुभएका नगर प्रमुख श्रेष्ठले बुद्धभूमि नगरपालिकाको शिक्षा ऐन-२०७६ सभाको कार्यसूचीमा पेश गर्नुभएको थियो । उक्त ऐनलाई वडा नं. ४ का वडाध्यक्ष पवनकुमार थारुले सभामा पढेर सुनाउनुभएको थियो ।
प्रस्तुत ऐनमाथि विभिन्न वडाध्यक्षले आ–आफ्नो धारणा राखेका थिए । वडा नं. ३ का वडाध्यक्ष गोविन्द्र आचार्य, वडा नं. ९ का वडाध्यक्ष खिमानन्द न्यौपानले शिक्षा ऐन केन्द्रिय कानुनसंग बाझिन नहुने धारणा राख्नुभएको थियो ।
वडाध्यक्षको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा ऐन अनिवार्य बनाउनुपर्ने भएकोले सबैको राय, सुझाव र सल्लाह बमोजिम ल्याएको प्रष्ट पार्नुभएको थियो । केन्द्रिय कानुनसंग बाझिने गरी ऐन नआएको भन्दै उहाँले ऐनमाथि केही थपघट गर्नुपर्ने भए शिक्षा नियामावली बनाएर प्रष्ट पार्ने प्रतिवद्धता जनाए लगत्तै ऐन नगरसभाबाट पारित भएको हो । नगरसभामा आर्थिक नियामावलीका केही दफाहरुलाई शंशोधन गरिएको छ भने नगर कार्यपालिकाबाट भएका केही महत्वपूर्ण निर्णयलाई अनुमोदन गरिएको छ ।
प्रत्येक आवमा स्थानीय तहले बर्खे र हिउँदे सभा गर्नुपर्ने कानुनी प्रावधान छ । बर्खेसभामा नयाँ आवको नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने हुन्छ भने हिउँदे सभामा विशेष गरी ऐन, नियमावली बन्ने गरेका छन । साथै हिउँदे सभामा बर्खे सभाले ल्याएका कार्यक्रम तथा बजेटलाई सामान्य हेरविचार गर्ने चलन छ । दश स्थानीय तह रहेको कपिलवस्तुमा बुद्धभूमि नगरपालिका हिउँदे सभा गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । वाणगंगाले आउँदो माघ महिनाको अन्तिम हप्ता हिउँदे सभाको मिति तोकेको छ भने अरु स्थानीय तहले कुनै सुरसार गरेका छैनन ।

प्रकाशित मिति : २७ पुस २०७६ आइतबार ००:००  ६ : ०९ बजे