५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

सिटी र युनाइटेड पाँचौ चरणमा, लिभरपुलले अर्काे खेल कुर्नुपर्ने



जेन्सी । 

प्रिमियर लिगका टोलीहरु म्यानचेस्टर सिटी र म्यानेचस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गर्दा लिभरपुलले रिप्ले खेल खेल्नुपर्ने भएको छ । 

आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित फुलहमलाई ४–० ले पराजित गर्दै पाँचौं चरणमा पुग्न सफल भएको हो ।
सिटीको जितमा ब्राजिली ग्राबियल जिससले दुई तथा इकेए गुण्डोगान र बर्नाडो सिल्भाले गोल गरे । खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुलहम १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा सिटीले उठायो ।

सिटीका जिससलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि रिआमले रातो कार्ड पाएका थिए । जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २–० को बनाए ।  ७२औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता तेब्बर बनायो । ८५औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को फराकिलो जितसँगै एफएकपको पाँचौ चरणमा पुग्न सफल भयो ।

यस्तै म्यानचेस्टर युनाइटेडले लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० को भारी अन्तरले पराजित गर्दै पाँचौ चरणमा पुग्न सफल भयो । युनाइटेडको जितमा ह्यारी मिगुएर, डिगो डालोट, जेसे लिङ्गार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे ।

रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनाएको थियो । १०औं मिनेटमा मिगुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १३औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडलाई खेलमा २–० को अग्रता दिलाए ।

१६औं मिनेटमा लिङ्गार्डले गोल गर्दा युनाइटेड खेलमा ३–० ले अघि बढ्यो । ४१औं मिनेटमा जोन्सले तथा ४५औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५–० को आरामदायी अग्रता बनायो । ५६औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए ।

यता, प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुल लिग वान क्लब श्रीउजबरी टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले दुई गोलको अग्रता जोगाउन नसक्दा रिप्ले खेल खेल्नु पर्ने भएको हो । १५औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ४६औं मिनेटमा टाउनका डोनाल्ड लभले आत्मघाती गोल गर्दै लिभरपुल २–० ले अघि बढ्यो ।

६५औं मिनेटमा जासन कुमिङ्सले पेनाल्टीमा गोल गर्दै टाउनलाई खेलमा फर्काए । ७५औं मिनेटमा कुमिङ्सले व्यक्तिगत दोस्रो गोल गर्दै टाउनलाई हारबाट जोगाए । दोस्रो हाफमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोलाई मैदान पठाएपनि लिभरपुलले जित निकाल्न सकेन । बराबरीसँगै लिभरपुलले टाउनसँग पुनः खेल्नु पर्ने भएको छ । रिप्ले खेल लिभरपुलको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ४ : २२ बजे