७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

कपिलवस्तुको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा



राम अवतार चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको चनई स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन भएको छ । शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा रहेको स्वास्थ्य चौकीमा सोमवार एक कार्यक्रमको आयोजना गरी ल्याव सेवाको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं.५ सभा सदस्य अर्जुन कुमार केसीले ल्याव सेवा सञ्चालनमा आएसंगै अबसामान्य जाँच गर्न निजी क्लिनिकमा जानुपर्ने वाध्यता हटेको बताए । देशमा अन्य विकाससगैं स्वास्थ्यलाई सरकारले विशेष ध्यान दिएको सांसद केसीले जिकिर गरे । सुत्केरी जस्तो अति संबेदनशिल विषयलाई प्रमुख महत्व दिनुपर्ने उनले धारणा राखे ।
उनले शिवराज नगरपालिकामा अस्पताल नहँुदा नागरिकहरुलाई धेरै समस्या भएको भन्दै यसमा प्रदेश तथा स्थानीय सरकारले पहल गरिरहेको जनाए । अहिले जग्गा नहुँदा अस्पताल बनाउन नसकेको भन्दै अब जग्गा ब्यवस्थापन पश्चात नगरमा अस्पताल निर्माण हुने दाबी समेत गरे ।
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले ल्याव सेवाले नगरका नागरिकहरुलाई सहज हुने विश्वास व्यक्त गरे । नागरिकहरु सरकारी स्वास्थ्य संस्था भन्दा निजी मेडिकलहरुमा जाने क्रम बढेकोले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । कृषि पेशा गर्ने समुदायको बाहुल्यता रहेको शिवराज नगरपालिकामा कम शुल्कमा स्वास्थ्य परिक्षण हुने भएकोले सेवा लिनुपर्ने नगर प्रमुख अधिकारीले बताए ।
शिवराज नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीले १५ प्रकारका बिरामीको स्वास्थ्य परिक्षण गर्न ल्याव संचालनमा ल्याएको हो । स्वास्थ्य चौकीले ५ प्रकारका रोगको निशुल्क परिक्षण गर्ने जनाएको छ । विपन्न समुदायलाई लक्षित गरी खकार, क्षयरोग, मलेरिया एचआईभी र गर्भवती महिलाको रक्तअल्पताको जाँच निशुल्क गरिने वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताए ।
सिबिसि, टिसि, डिसि, ईएसआर, ब्लड गप, भिडिआरएल, सुगर, युरिकेसिड, लगायतको जाँच कम शुल्कमा गरिने सापकोटाले बताए । कार्यक्रममा समाजसेवी युवा नेता अजय थापा, कृष्ण कुमार चौधरी, ईश्वरी पाण्डे, बलराम मरासिनी लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन जित बहादुर विसीले गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ४ : ४९ बजे