५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कुखुरापालनबाट गाउँमै स्वरोजगार



रुकुम ।
आफूले सरकारी जागिर पाए रोजगार र नत्र बेरोजगारको अर्थ लगाउने जमात धेरै छ । जागिरविना पनि आफ्नो व्यापार व्यवसाय र कृषि कर्ममार्फत स्वरोजगार हुने सकिने सम्भावना धेरै छन् ।

देशमा काम गर्ने सम्भावना छैन भन्दै विदेशिने धेरैको जमातमा केही यस्ता पनि व्यक्ति छन् जसले अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँछु र स्वरोजगार बन्छु भन्ने पनि । रुकुम पश्चिम मुसिकोटका पनि केही व्यक्तिहहरूको पहलमा नमुना कुखुरापालन फार्म संचालन गरेर कृषि क्षेत्रमा यस्तै प्रेरणा थपिएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ मा व्यावसायिक रुपमा कुखुरापालन थालिएको छ। मुसिकोट एग्रो फार्ममार्फत संचालन गरिएको व्यावसायिक कुखुरापालनमार्फत जिल्लाका लागि आवश्यक अण्डा र मासु उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हाल जिल्लाका लागि आवश्यक अधिकांश कुखुराको मासु जिल्लामै नै उत्पादन हुने गरे पनि अण्डा भने जिल्लाबाहिरबाट आयात हुँदै आएको छ । अण्डामा पनि जिल्ला आत्मनिर्भर बनाउन व्यावसायिक कुखुरापालन गरिएको बताइएको छ । हाल ५ हजार कुखुरा मार्फत अण्डा उत्पादन भइरहेको संचालक दीपकराज खड्काले बताए ।

‘अण्डा तथा मासुमा बाहिरी जिल्लाका ठूला व्यवसायीहरुसँग प्रतिष्प्रधा गर्न केहि समस्या छ’ उनले भने, ‘ समस्या भए पनि बेरोजगारको नारा लगाउनेहरूका धेरै युवाहरुलाई स्वरोजगारमूलक कार्यमा प्रेरणा दिन आफूहरु व्यावसायिक रुपमा कुखुरापाललमा लागेका हौं ।’

एग्रोफार्म ५ जना ब्यक्तिहहरुको सहकार्यमा संचालित छ भने केहीलाई रोजगारीसमेत प्रदान गरेको छ । व्यवसाय गरेर स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन पनि आफूहरूले जिल्लामै नमुना कुखुरा फाम सञ्चालन गरेको संचालकहरुको भनाई छ ।

कुखुरा फार्ममा हालसम्म ८२ लाख बढी रकम लगानी गरिसकिएको छ । जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिममार्फत १२ लाख ७९ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको छ भने अन्य संचालकहरुको व्यक्तिगत लगानी रहेको छ ।

व्यावसायिक रुपमा पशुपंक्षीपालन गर्ने ब्यक्ति तथा समुहहरुलाई कार्यालयमार्फत अनुदान प्रदान भएको र अनुदान प्राप्त गरेका फार्महरु नमुना व्यवसायका रुपमा अघि बढिरहेको कार्यालयको भनाई छ ।

पुश अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका अधिकृत शेरबहादुर खड्काका अनुसार कार्यालयमार्फत यस वर्ष भैँसीपालन र गाईपालनलाई प्रोत्सहान र अनुदानको कार्यक्रम संचालन गरेर दूध उत्पादन, बिक्री वितरणका लागि पनि सहयोग गरिरहेको छ । ‘देशमा केहि गर्छु भन्ने ब्यक्तिहरुको योजना र ईच्छाशक्ति भएमा सरकारी अनुदान पक्कै पनि सदुपयोग हुन्छ’ उनले भने, ‘यसले पक्कै पनि व्यवसायिक कृषि र स्वरोजगार अभियानमा सहयोग पुग्छ ।’

प्रकाशित मिति : १३ माघ २०७६ सोमबार ००:००  ५ : ०२ बजे